
पोखरा । एभरेस्ट एफएमले आयोजना गर्ने आकस्मिक रक्तदान कार्यक्रम भोलि शनिबार हुँदैछ । पोखरामा रगतको अभाव भएपछि पोखरामा देखिएको रगतको अभावलाई पूर्ति गर्न एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि कात्तिक १० गते शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम भोलि विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म एभरेस्ट एफएमको प्राङ्गणमा चल्ने एफएमले जनाएको छ । रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको एफएमले जनाएको छ ।
विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगतको अभाव देखिएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको अनुरोधमा रक्तदान कार्यक्रम गर्न लागेको एफएमले जनाएको छ ।
‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले रगतको अभावमा आहत मनलाई राहत प्रदान गर्न रक्तदानमा सहभागी हुन आग्रह गरे । एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १ सय ८१ युनिट रगत संकलन गर्न सफल भएको थियो ।
१७ देखि ६५ वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका स्वस्थ मानिसले रक्तदान गर्न सक्नेछन् । यसअघि ६० वर्षसम्मकाले मात्रै रक्तदान गर्न मिल्ने भनिदै आएका थियो तर पछिल्लो क्रममा ६५ वर्षसम्मकाले रक्तदान गर्नसक्ने जनाइएको छ । त्यस्तै उच्च रक्तचाप भई औषधी सेवन गरेकालेपनि औषधी सेवनपछि सामान्य रक्तचाप भएको अवस्थामापनि रक्तदान गर्नसक्ने रक्तसञ्चार केन्द्रले जनाएको छ । रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वस्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताइन्छ ।
रक्तदान कसले गर्न मिल्छ ?
पोखरामा रगतको अभाव भएपछि पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले भोलि शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्दैछ । पोखरामा भएको रगतको अभाव पूर्ति गर्न एभरेस्ट एफएम ९३ मेगाहर्जले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि कात्तिक १० गते शनिबार रेडियो प्राङ्गण पस्र्याङमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।
रगत नपाएर अस्पतालमा छटपटाईरहेका विरामीको आहत मनमा राहत दिने र रगतको अभावमा कसैकोपनि ज्यान जाने अवस्था नआओस् भन्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रम शनिबार विहान७ बजेदेखि मध्याह्न १२ बजेसम्म जारी रहने एफएमले जनाएको छ ।
रक्तदान स्वस्थ शरीर, कम्तीमा १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्तिले रक्तदान गर्न सक्छन् । सामान्यतया स्वास्थ्य अवस्था राम्रो भएको तर मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी तथा एड्स नलागेको भने हुनुपर्छ ।
रक्तदान गर्न पुरुष या महिला दुबैले सक्छन् । तर महिलाले गर्भवती र महिनावारीको समयमा भने रक्तदान गर्नुहुँदैन । महिलाले सुत्केरी भएको ६ महिनापछि मात्रै रक्तदान गर्नुपर्छ ।
उच्च रक्तचाप भएका तर पछिल्लो समय उच्च रक्तचाप सम्बन्धि औषधि सेवन गरेपछि हाल नर्मल १२०÷८० वा त्यस नजिक रक्तचाप रहेका व्यक्तिले रक्तदान गर्न सक्ने रक्त सञ्चार केन्द्र पोखराले जनाएको छ ।
रक्तदान किन गर्ने ?
रक्तदान आफैले आफैलाई स्वस्थ भएको प्रमाणित गर्ने मौकापनि हो । अर्कोचाहिं यसले आफैलाई सन्तुष्टि दिन्छ । भनिन्छ, रक्तदान दानमध्येका सर्वश्रेष्ठ दान हो । यसले कसैको ज्यान जोगाउन सकिन्छ । त्यसैले यसलाई महादानपनि भन्ने गरिन्छ । त्यतिमात्र होईन, कहिलेकाहिं आफ्नो रगत आफैलाईपनि काम लाग्छ । के थाहा अहिले स्वस्थ भएको व्यक्ति एकछिनपनि विरामीपनि हुनसक्छ । त्यसैले आफैले दान गरेको रगत भोलि आफैलाई काम लाग्नका लागिपनि रक्तदान गर्ने बानी बसाल्नुपर्छ ।
हरेक ३ महिनामा रक्तकोषिका परिवर्तन भइरहन्छ । पुराना रक्त कोषिका मर्ने र नया उत्पादन हुने गर्दछ । त्यसैले खेर जाने रगत दान गरेर कसैको ज्यान बचाउन सकिन्छ ।
रक्तदान गर्दा क्यालोरी घट्छ, जसका कारण मोटोपन कम गराउनपनि सघाउँछ । एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्ने चिकित्सकको भनाई छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् ।
रक्तदानले मुटुको समस्याबाट टाढा राख्छ । त्यस्तै रक्तदानले क्यान्सरबाटसमेत जोगाउँछ । अनुसन्धानले पनि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्ने पुष्टि गरिसकेको छ । रक्तदानले कार्डियायोभास्कुलर स्वास्थ्यको पनि नियन्त्रण गर्छ ।
रक्तदानले सामाजिक प्रतिष्ठापनि उचो बनाउँछ । यो समाजसेवाको एउटा रुप पनि हो ।