“सारङ्गी” संस्कृति जोगाउन गन्धर्व समुदायले गरेका संघर्षको कथा बोल्ने फिल्म

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा  । नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ लक्ष्मीपूजाको दिन १५ कात्तिकदेखि रिलिज तयारीमा छ । सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्मको प्रचारका लागि फिल्म यूनिट यतिखेर पोखरा आएको छ ।

शुक्रबार चलचित्र पत्रकार संघ कास्की आयोजनामा भएको पत्रकार सम्मेलनमा कलाकारले समाजको वास्तविक घटनामा आधारित रहेर निर्मित फिल्मले दर्शकको मन जित्ने दाबी गरे ।

लोकप्रिय गायक तथा कलाकार प्रकाश सपूतले ‘सारङ्गी’ को नामबाट बाट पहिलोपल्ट नेपाली फिल्म बनेको उल्लेख गर्दै गण्डकी क्षेत्री सारङ्गी लोकभाखाको पर्याय भएको बताए । उनले भने, ‘यही ठाउँ (पोखरा) मा झलकमान गन्धर्वको जन्म भएको हो। यो धूनसँग यो कथासँग, गीतसँग हामी जति नजिक छौं, सायद अरुसँग हुन्छ होला ।’

उनले यो फिल्मलाई आफ्‌नो क्षेत्र, गीतसंगीतबाट नजिकबाट महसुस गरेको गरे । उनले भने, ‘जे कुरा आफ्नो लाग्छ, त्यो अलि प्रिय लाग्छ । तपाईंलाई पनि पूर्णबहादुरको सारङ्गी प्रिय लाग्नेछ ।’ पूर्णबहादुरको सामान्य कथा ठूलो पर्दामा आउन लागेको र यो फिल्मले एउटा सन्देश बोकेर जाने उल्लेख गरे ।

उनले आफ्‌नै फिल्म ‘वसन्त’ लगायतको सेड्युलमा काम गरेको हुँदा चाहेर पनि फिल्म प्रचारमा निस्कन नसकेको बताए । जसका कारण आलोचना खेपेका सपूतले प्रस्ट पार्दै भने, ‘फिल्म प्रचारमा चलचित्रका काफी कलाकार उपस्थिति हुनुहुन्थ्यो ।

कलाकारको हिसाबले, भूमिकाको हिसाबले, उहाँहरूको लोकप्रियताका हिसाबले उहाँहरू नै पर्याप्त हुनुहुन्थ्यो। तर म नहुँदा मात्रै प्रश्नहरू उठे । मान्छेमा जे कुरा छैन, त्यो अभाव हुन्छ तर आफूसँग जे छ, त्यो सामान्य लाग्दो रैछ ।’

मुख्य कलाकार विजय बरालले यो फिल्मको कथा ४५ सालअघिको भएको प्रस्ट पारे । उनले सारङ्गी संस्कृति जोगाउन गन्धर्व समुदायले गर्ने संघर्षलाई कथामा समेटिएको बताए ।

अर्का कलाकार मुकुन भुषालले फिल्मको टिजर, ट्रेलर र गीतअनुसार सबै जनाले फिल्मको ‘कन्टेन्ट’ मन पराएको उल्लेख गर्दै दशैंको बेलामा रिलिज अन्य फिल्मको बिजनेस राम्रो भएकाले यसलाई पनि दर्शक मन पराउनेमा आशावादी देखिए ।

फिल्म प्रचारका लागि आफूहरु देशदौडाहामा रहँदा थकानसमेत महसुस गरेकोमा पोखरामा प्रकाश सपूतको उपस्थितिले उत्साह बढेको बताए । सपूत पोखराको प्रचारबाट मात्र जोडिएका हुन् ।

अभिनेत्री अञ्जना बराइलीले छोटो प्रतिक्रिया दिँदै नेपाली चलचित्र र कलाकारलाई माया गरिदिन अनुरोध गरिन् । विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेको फिल्ममा बुद्धि तामाङ, गायक प्रशान्त सिवाकोटी, सारङ्गीवादक विराज गन्धर्वलगायतको अभिनय छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्