पोखरा । स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सीप विकास प्रशिक्षक प्रशिक्षण कार्यक्रम आईतवार पनि पाेखरामा जारी रह्याे । गण्डकी प्रदेशका ११ जिल्लाका प्रशिक्षकहरूलाई शनिवारदेखि प्रशिक्षण दिन शुरु गरिएको हाे ।
प्रशिक्षणकाे उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विज्ञ व्यक्ति नेतृत्वमा नहुनु र समयानुकुल पाठ्यक्रमहरू परिवर्तन नहुनाले नेपालको शिक्षा प्रणाली स्तरीकृत बन्न नसकेको बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षालाई स्तरिकृत बनाउनका लागि पाठ्यपुस्तक, गेसपेपर, गाइड लगायतका सामाग्रीहरुबाट नभई पाठ्यक्रम विकास केन्द्रले तयार पारेकाे पाठ्यक्रमबाट प्रश्नपत्र निकाल्ने गरि प्रशिक्षक प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरिएकाे जानकारी दिए ।
उनले भने-‘परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई वैज्ञानिक रूपमा सुधार गर्ने कार्ययोजना अनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको हाे ।’ गुणस्तरयुक्त प्रश्नपत्रले विद्यार्थीहरूको नतिजालाई सुधार गर्ने उनकाे विश्वास छ ।
पाठ्यक्रम अनुसार तयार पारिएका प्रश्नपत्रले विद्यार्थीकाे ज्ञान, बाेध र प्रयाेग सबै पक्षलाई समेट्ने उनकाे भनाई छ । प्रशिक्षणपश्चात अवदेखि शिक्षकहरुले प्रश्नपत्र तयार गर्दा पाठ्यपुस्तककाे प्रयाेग नगर्ने उनकाे प्रस्टाेक्ति छ ।
शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले माध्यमिक तहका परीक्षाको नतिजा खस्कदो आएकाले त्यसलाई सुधार गर्न पनि यस प्रकारको तालिमहरू आवश्यक पर्ने बताए ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा आयाेजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीको समन्वय तथा शिक्षा विकास निर्देशनालय गण्डकी, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसँगको सहकार्यमा भएकाे हाे ।
“सकारात्मक सोचका साथ रचनात्मक कार्य गरौँ जति सकिन्छ त्यति गरौँ, केही न केही अवश्य गरौँ” भन्ने मूल नारासहित आयाेजित प्रशिक्षण ५ दिनसम्म जारी रहनेछ ।
स्तरीकृत परीक्षाका लागि राष्ट्रिय परिक्षा बाेर्डले ७ प्रदेशका ७ सय ५३ वटै स्थानीय तहमा प्रश्न निर्माण सम्बन्धी तालिम प्रदान गर्दै आएको जनाएकाे छ ।










