
पाेखरा । सरकारले अपाङ्गतामैत्री संरचनामा जोड नदिएको सराेकारवालाले ओैंल्याएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि भौतिक पूर्वाधार, संचार र यातायातमा पहुँच सम्बन्धी पाेखरामा भएकाे अन्तरक्रिया कार्यक्रमका सहभागिले साे कुरा राखेका हुन् ।
स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत साे कार्यक्रम गरिएकाे थियाे ।
कार्यक्रमका सहभागिले व्यक्तिको व्हीलचेयर देख्ने बित्तिकै यातायात अथवा सवारी साधन चालक भागिहाल्ने, सम्बन्धित व्यक्तिले अप्ठ्यारो मानेको सरकारले अपाङ्गतामैत्री संरचनामा जोड नदिएको सराेकाला निकायकाे गुनासाे छ ।
स्वालम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेमबहादुर गुरुङले अपाङ्गमैत्री सडक, यातायात, धारा, कार्यालय मात्र नभई पार्क तथा घुम्ने स्थान कहींकतै पनि अपाङ्गता भएका व्यक्तिका लागि सहज नभएको बताए ।
एमाले प्रदेशसभा सचेतक देवका पहारीले पोखराका होटल, पाटीपौवा, बाटो, सडक कुनै पनि पूर्वाधार अपाङ्गमैत्री नभएको बताइन् । ‘सरकारले पर्यटकीय राजधानी घोषणा गरेर मात्र हुँदैन,’ उनले भनिन्, ‘सबैलाई समान पहुँच हुने गरी सम्बोधन गर्नुपर्छ ।’
माओवादी संसदीय दलकी प्रमुख सचेतक कुसुमबुढा मगरले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि लामो समय लड्दै आएको बताइन् । ‘कानुनी रूपमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बोधन छ तर कार्यान्वयनमा समस्या छ,’ उनले भनिन्, ‘सरकारी कार्यालयमा पनि अपाङ्गमैत्री भवन निर्माण गरियो भनियो तर व्यावहारिक प्रयोग गर्न भन्दा पनि देखाउनका लागि जस्तै बने ।’
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अपाङ्गमैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था सँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गरे ।
प्रदेशमा बन्ने संरचनाहरु अपाङ्ग मैत्री बनाउन पहलकदमी गरिने भनाई उनको छ । मन्त्री थापाले अपाङ्गताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै ऐनमा नै सहज वातावरण मिलाउने व्यवस्था गर्ने गरी प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सार्वजनिक स्थान, यातायात र अन्य क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुले सहजै काम गर्न सक्ने गरि व्यवस्था गरिने उनले बताए । समानुभूति, समझदारी र समावेशी दृष्टिकोण निर्माण गरि अगाडि बढ्ने भनाई उनको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख नितु गर्तौला, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका महिला तथा सामाजिक शाखा प्रमुख मुना अधिकारीले बालेका थिए ।
स्वालम्बन जीवनपद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महाासचिव अन्जना केसीले गरेकी थिइन् । कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र परिवारले भोग्नुपरेको समस्याका विषयमा जानकारी गराइएको थियो ।