प्रतिशाेधका आधारमा कसैलाई पक्राउ गरिएको हाेईन’-गृहमन्त्री लेखक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गृहमन्त्री रमेश लेखकले प्रतिशोधका आधारमा कसैलाई पक्राउ नगरिएको बताएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रतिशाेधका आधारमा कसैलाई पक्राउ नगरिएको स्पष्ट पारेका हुन् ।

‘अनुसन्धानका लागि पक्राउ गरिएकाे हाे, प्रतिसाेध साधेकाे हाेईन् ।’- लेखकले भने । गृहमन्त्री लेखकले सहकारी पीडितको न्यायका लागि सरकारपछि नहट्ने र संसदीय समितिले दिएको निर्देशन अनुसार जो कोही भएपनि अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

गृहमन्त्री लेखकले रास्वपाका सांसद समेत सदस्य रहेको सहकारी सम्बन्धी संसदीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनको आधारमा सहकारी ठग तथा संगठित अपराधका आरोपीहरूलाई गृह मन्त्रालयले समितिकै प्रतिवेदनको आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रस्ट पारे ।

मुस्ताङबाट काठमाडौँ जाने क्रममा पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले थुनामा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेेप्रति पनि कुनै प्रतिशोध नभएको बताए ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अर्बौं रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की हिरासतमा छन । तर, रास्वपाले सरकारले राजनितिक प्रतिशोध साँधेर पूर्वगृहमन्त्री समेत रहेका लामिछनेलाई पक्राउ गरिएको भन्दै प्रदर्शन गर्दै आइरहेको छ।

यस्तै जिबी राईलाई कहिले पक्राउ गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा लेखकले राईको खोजी कार्य र नेपाल ल्याउने प्रक्रिया निकै तीव्रताका साथ अगाडि बढिरहेको र खोजीका विषयमा पक्राउ नगरिकन कुनै पनि सूचना सार्वजनिक गर्न तथ्यपरक नभएको उल्लेख गरे ।

सरकारले सहकारी ठगी प्रकरणका दोषी र आरोपीलाई कारबाहीको प्रक्रियामा ल्याउने मात्र काम नगरेको बताउँदै मन्त्री लेखकले सहकारी पीडितहरूले रकम कसरी फिर्ता पाउँछन् भन्ने विषयमा समेत फास्ट ट्र्याकबाट काम अगाडि बढाएको दाबी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्