पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा गुञ्जिँदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुरअन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युलअनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् । उनको टिम बुधबार पोखरा आइपुगेको छ ।

आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । ‘पोखरा भनेको म्युजिक, कल्चर निकै रूचाउने सहर हो । डोर सेलसहित गरेर पाँच हजारभन्दा बढीको उपस्थिति रहने अपेक्षा हाम्रो छ,’ उनले भने ।

यो कार्यक्रमका लागि रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने संचालक पुरीले जानकारी दिए । मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।

टिकटको मूल्य एक हजार पाँच सयदेखि तीन हजार रूपैयाँसम्म रहेको छ । दुई हजार पाँच सयको फ्यान पिट र तीन हजार रूपैयाँको भीआइपी टिकट खरिद गर्नेले नाडीमा लगाउने एल.ई.डी ब्याण्ड पाउने छन् । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र शुक्रबार दिउँसो तीन बजे गेट खुल्ने कार्यक्रम संयोजक महेश्वर भण्डारीले बताए ।

सज्जनको प्रस्तुति भने पाँच बजेपछि सुरु हुने उनले जानकारी दिए ।
‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन लागेको कार्यक्रम तेस्रो हो । यसअघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । पोखरापछि कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सका संचालक विपीन नकर्मीले जानकारी दिए ।

सज्जनका ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै मन पराएको छ । युट्युबमा मात्र नभई अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा पनि वैद्य रूचाइएका छन् । स्पोटिफाईमा उनका मासिक साढे तीन लाखभन्दा बढी स्रोता छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्