गण्डकी प्रदेशसभा सांसद विमला गौचनको अन्तिम बिदाइ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनप्रति प्रदेशसभामा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।

गण्डकी प्रदेश सरकार र प्रदेशसभा सचिवालयले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उपसभामुख वीनाकुमारी थापा, सांसद, मन्त्री, तथा सर्वसाधारणले सहभागिता जनाएका थिए।

प्रदेशसभा प्राङ्गण, नदीपुर, पोखरामा राखिएको गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर मुख्यमन्त्री पाण्डे र उपसभामुख थापाले श्रद्धाञ्जली व्यक्त गरे। नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाएर श्रद्धा अर्पण गरे। थकाली सेवा समितिले परम्परागत विधिबाट श्रद्धाञ्जली व्यक्त गरेको थियो।

विसं २०१८ साल असार १८ गते मुस्ताङको कोबाङमा जन्मिएकी गौचन महिला संघ म्याग्दीकी अध्यक्ष, होटल व्यवसायी र सामाजिक अभियन्ताका रूपमा सक्रिय थिइन्। उनी विसं २०७९ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन्।

गौचनले दामोदर कुण्ड यात्रापछि स्वास्थ्य समस्या झेलेकी थिइन्। डेंगु संक्रमण भएपछि गम्भीर अवस्थामा रहेकी उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल लगिएको थियो। कात्तिक २८ गते राति हृदयाघातका कारण उनको निधन भयो।

गौचनका एक छोरा रोशन र छोरी अनुस्का छन्। अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई म्याग्दी लगेर परम्पराअनुसार दाहसंस्कार गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्