पोखरामा कर सप्ताह सुरु, विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा आन्तरिक राजस्व कार्यालयको आयोजनामा आजदेखि कर सप्ताह सुरु भएको छ। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने नारासहित साताव्यापी कार्यक्रम गरी यो सप्ताह मनाइँदैछ।

कर सप्ताहको पहिलो दिन पोखरा सभागृहदेखि आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। प्रभातफेरीमा सहभागीहरूले कर सम्बन्धी विभिन्न सन्देश अंकित प्लेकार्ड बोकेका थिए। कार्यक्रमको उद्घाटन गर्दै कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले करदाता र कर प्रशासनबीचको सम्बन्ध सुदृढ बनाउन कार्यालय प्रतिबद्ध रहेको बताए।

 

सप्ताहभरका कार्यक्रमअन्तर्गत करदाता शिक्षासँग सम्बन्धित गोष्ठी, कर कानुनको संशोधनबारे जानकारी, र जनचेतनामूलक कार्यक्रम गरिनेछ। यसक्रममा विभिन्न सञ्चारमाध्यम, उद्योग वाणिज्य संघ, र कर सम्बन्धी संघसंस्थाहरूसँग सहकार्य गरिने जनाइएको छ।

कार्यालयले पहिलो दिन प्रभातफेरीमार्फत कर सप्ताहको सुरुवात गरे पनि मंसिर २ गते कर तिर्न आउने प्रथम करदातालाई सम्मान गर्ने योजना रहेको छ। साथै, मंसिर ७ गते उत्कृष्ट करदाताहरू र कर्मचारीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरू कर तिर्न इच्छुक रहेको र राज्यले पनि व्यवसाय अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे। नेपाल अडिटर्स एसोसिएसन कास्कीका अध्यक्ष कमलबहादुर रेग्मी लगायतले कर सप्ताहको सफलताको शुभकामना दिएका थिए।

कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय पोखरामा हालसम्म करिब ७० हजार करदाता दर्ता भएका छन्। कार्यालयले आर्थिक ऐन, २०८१ अनुसारका कर छुट र कानुन संशोधनबारे करदातालाई जानकारी गराउने र अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

कर सप्ताहले करप्रति सचेतना फैलाउने र करदातासँगको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्