पत्रकार सुरक्षा र स्वतन्त्रता सम्बन्धी कास्कीका पत्रकारद्वारा ध्यानाकर्षण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पछिल्लो समय पोखरामा सुरक्षाकर्मी र आन्दोलनरत पक्षबाट पत्रकारहरू माथि भइरहेका हमलासँग सम्बन्धित घटनामा गम्भीर ध्यानाकर्षण गराएको छ।

महासंघले यसअघि केही घटनामा पत्रकारहरूलाई असुरक्षित र दुव्र्यवहारको सामना गर्नुपरेको बताउँदै, संविधानले प्रत्यायोजित प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको उल्लेख गरेको छ।

महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीको नेतृत्वमा गएको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र कास्की प्रहरी प्रमुख श्यामबावु ओलियासँग कुरा गर्दै पत्रकारहरूको सुरक्षाका लागि तत्काल सुधारको माग गरेको हो। यस क्रममा कास्की जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्रकारहरूको सुरक्षामा देखिएको कमीकम्जोरी सच्याउने प्रतिवद्धता जनाएका छन्।

३० कात्तिकमा जब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देहीबाट कास्की जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा पत्रकार ओम हमाल र संचारकर्मी सन्देश बरालले समाचार संकलन गर्न जाँदा उनीहरूको फोटो र भिडियो खिच्न रोक लगाएर दुव्र्यवहार गरिएको थियो। यसैगरी, २० कात्तिकमा पोखराको वाइचोकमा पत्रकार इन्द्रप्रसाद पौडेल, विनोद लामिछाने र क्यामेरा पर्सन राजकुमार माझी माथि प्रहरीबाट नै कुटपिट र सञ्चार सामग्री तोडफोड गरिएको थियो।

आन्दोलनरत रास्वपाका कार्यकर्ताहरूबाट पनि ४ मंसिरमा पत्रकार सागरराज तिमिल्सिना र सुशान्त गाहामगरमाथि ढुंगा प्रहार गरिएको साथै पत्रकार निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीसँग दुव्र्यवहार भएको महासंघ गण्डकी प्रदेश समितिले जनाएको छ। यस्ता घटनाले पत्रकारहरूको सुरक्षामा ठूलो खतराको संकेत गरेको र समाचार संकलनको स्वतन्त्रतामा हस्तक्षेप भएको स्पष्ट भएको महासंघको भनाइ छ।

महासंघले संविधानले दिएको प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न कास्की जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग छानबिन र सुधारको माग गरेको छ। यसले पत्रकारहरूको पेशागत सुरक्षा र स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता पुनः प्रस्ट पारेको छ।

यस घटनाक्रममा महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य माधव पनेरु, पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतको टोलीले पत्रकारहरूको हकअधिकारको रक्षा गर्न सरोकारवालासम्म ध्यानाकर्षण गराएका थिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डे र कास्की प्रहरी प्रमुख ओलिया द्वारा पत्रकारहरूको सुरक्षामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ भने, महासंघले आगामी दिनमा पत्रकारहरूको सुरक्षित र स्वतन्त्र समाचार संकलनका लागि सकारात्मक वातावरण सृजना हुने अपेक्षा राखेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्