गण्डकी प्रदेशको सार्वजनिक लेखा समिति थप प्रभावकारी बन्नुपर्नेमा जाेड

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिमा भ्रष्टाचार, अनियमितता र सरकारी निकायहरूमा बेरुजु समस्या बढ्दै गएको अवस्थालाई समाधान गर्न थप प्रभावकारी बन्नुपर्नेमा जाेड दिइएकाे छ ।

मंगलबार गण्डकी प्रदेश सभामा संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा भएकाे सार्वजनिक लेखा समितिको क्षेत्र, गतिविधि र प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले समितिको कार्यशैली र जिम्मेवारीलाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागीहरुले लेखा समितिको कार्यप्रणालीमा सुधारको आवश्यकता औंल्याए। सरकारी निकायहरूमा पारदर्शिता नहुनु र अनियमितता भएका बारेमा कार्यक्रमका सहभागिहरुले चासो व्यक्त गरे।

सरकारमा रहेको दलको सांसद सार्वजनिक लेखा समितिको सभापति हुँदा सरकारलाई कसरी निर्देशन दिन सक्छ भन्ने विषयमा पनि छलफल केन्द्रिय रह्याे ।

शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका संयोजक विना सिलवालले सरकारी निकायहरूले आर्थिक विवरण प्रदान नगर्दा त्यहाँ अनियमितता वा अपारदर्शिता रहेको संकेत हुने बताईन् ।

पृथ्वीनारायण क्याम्पसका डा. देवीलाल शर्मा तिमिल्सिनाले लेखा समितिलाई यस क्षेत्रमा सशक्त कदम चाल्न र आर्थिक प्रशासन प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे।

“कानूनहरू धेरै बनाइन्छ तर तिनको कार्यान्वयन कमजोर छ, जसको कारण भ्रष्टाचार र अनियमितता बढ्दै गएका छन्।” उनले भने-“आर्थिक प्रशासन कमजोर भएर बेरुजु बढ्दै गएको छ, त्यसैले समितिले कडा निर्देशन दिनुपर्छ।”

कार्यक्रममा पत्रकार अमृत सुवेदीले सरकारी निकायमा हुने अनियमितताहरू र घुसपेट जस्ता घटनाहरूको गम्भीरता प्रस्तुत गरे । उनले बेरुजु समस्याको बारेमा पनि प्रश्न उठाउँदै भने, “बेरुजुको समस्या गम्भीर बन्दै गएको छ। यस समस्याको समाधान के छ? लेखा समितिले यी समस्याहरूलाई पारदर्शिता र जवाफदेहीतासाथ सम्बोधन गर्नुपर्छ।”

त्यस्तै,पत्रकार प्रकाश ढकालले कास्कीमा बेरुजु र अनियमितताका समस्या समाधान गर्न लेखा समितिले थप सशक्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। उनले कास्कीमा बेरुजु समस्या र लोमन्थाङको ठाउँ बीचको भिन्नता उठाउँदै भने, “लोमान्थाङमा बेरुजु छैन भने कास्कीमा बेरुजु कति धेरै छ?” ढकालले कार्यविधिको बारेमा पनि प्रश्न गर्दै थपे, “स्थानीय निकायको स्तरमा पनि लेखा समितिको प्रभावकारिता कस्तो छ? के त्यहाँ भएका असमानता र अनियमितताहरूको नियन्त्रणका लागि कुनै स्पष्ट कार्यविधि छ?” ढकालले सुधारका लागि समिति र अन्य सरकारी निकायहरूको समन्वयमा स्पष्ट योजना र रणनीति आवश्यक रहेको औंल्याए।

छलफल पश्चात सार्वजनिक लेखा समितिका सभापति सुधीर कुमार पौड्यालले समितिले अहिलेसम्म सर्वसम्मत निर्णय गर्दै आएको र प्रत्येक निर्देशन सरकारले कार्यान्वयन गरेकाे बताए । “समितिले कुनै पनि पक्षलाई बचाउने वा फसाउने कार्य गर्दैन, हामी ठिकलाई ठिक र बेठीकलाई बेठीक भन्न मात्र सक्छौं,”उनले भने।

उनले समितिका सबै सदस्यहरूको सहयोग र प्रतिबद्धता रहेको उल्लेख गर्दै समितिमा नागरिक सचेतता अभिवृद्धि नगरेसम्म अनियमितता र भ्रष्टाचारको समस्या निरन्तर रहने बताएका छन्।

समितिका सदस्य कल्पना तिवारी, नन्दकला दमै नेपाली, निर्मला थापा, पंचराम गुरुङ, सरस्वती गुरुङ र टीकाकुमारी बस्यालले कार्यक्रमका प्राप्त सुझावहरू अनुसार समितिको कार्यप्रणाली सुधार गर्ने प्रतिवद्धता जनाएका छन्।

यसअघि सार्वजनिक लेखा समितिका कार्यक्षेत्र र गतिविधिहरूको बारेमा प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदीले जानकारी दिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्