राखेपको बोर्ड बैठक बस्न गण्डकी प्रदेश खेलकुद परिषदकाे माग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय खेलकुद परिषद (रा.खे.प.) को बोर्ड बैठक तत्काल बस्न गण्डकी प्रदेश खेलकुद परिषदे माग गरेकाे छ । परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता लगायतका महत्त्वपूर्ण खेलकुद कार्यक्रमहरूको मिति र बजेटमा भएको अस्पष्टतालाई प्रकट गर्न यो बैठकको आवश्यकता भएकाे जनाएकाे हाे ।

राखेपलाई पत्र पठाउँदै गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बैठकको माग गर्दै यी सबै समस्याहरूको समाधानका लागि यथाशीघ्र बैठक बस्नुपर्ने बताएका छन् । बैठकले राष्ट्रिय खेलकुद परिषदका वार्षिक कार्यक्रमहरूको कार्यान्वयनमा रहेका समन्वय र सहकार्यका मुद्दाहरूमा निर्णय लिने उनकाे विश्वास छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहि मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने घोषणा भए पनि प्रतियोगिताको आधिकारिक मिति र प्रतियाेगिता सञ्चालवारे कुनै आधिकारिक निर्णय हुन नसक्दा गण्डकी प्रदेश खेलकुद परिषदले आयाेजना गर्ने खेलकुदका गतिविधि समेत अन्याेल भएकाे पत्रमार्फत जनाईएकाे छ । यस प्रतियोगिताका लागि ६० करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियाे ।

विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनका लागि प्रत्येक पालिका र प्रदेशहरूमा क्रमशः १ लाख र ६५ लाख रुपैयाँको बजेट विनियोजन हुन्छ । चालु आ.व. ०८१/०८२ मा उक्त बजेटको विनियोजन हुने कुनै जानकारी प्राप्त भएको छैन। यसले पालिका, जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता आयोजना र सञ्चालनमा चुनौती उत्पन्न गरेको गण्डकी प्रदेश खेलकुद परिषदले जनाएको छ।

तसर्थ यथाशिघ्र राखेपकाे वैठक बसि खेलकुद क्षेत्रको प्रगति र विकासका लागि आवश्यक निर्णयहरू लिन गण्डकी प्रदेश खेलकुद परिषदले माग गरेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्