पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। अदालतका न्यायाधीश हिमलाल बेल्बासेले लामिछानेलाई अनुसन्धानको लागि थप समय दिनु पर्ने निर्णय गरेका हुन्।
कार्तिक २५ मा लामिछानेलाई १३ दिनको हिरासत अनुमति दिइएको थियो। उनले पोखरास्थित सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
लामिछाने सँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिनको थुनामा राख्न अदालतले अनुमति दिएको छ। लामिछाने र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलनको आरोपमा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको पनि खबर प्राप्त भएको छ।
कास्की प्रहरी अनुसन्धानमा जुटिरहेको र उक्त मुद्दामा थप विवरण छानबिन भइरहेको कास्की प्रहरी कार्यालयले जनाएको छ।