पोखरा । पुसको दोस्रो साता स्याङ्गजामा पाँचौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले पाँचौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्ने सोमवार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
पुसको ८ हुने यस प्रतियोगितामा खुल्ला दौड (२५ कि.मि.), महिला खुल्ला दौड (१० कि.मि.), २१ वर्षभन्दा मुनिका लागि दौड (१० कि.मि.) र विद्यालय स्तरका दौड (५ कि.मि.) हुनेछन् । यस प्रतियोगितामा विशेष सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिने प्रतियोगिता संयोजक जीवन प्रसाद पोखे्रलले जानकारी दिए । जसले स्थानीय भाषा, संस्कृति, परम्परा र खानाको संरक्षण गर्दै आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्य राखेको उनको भनाई छ ।
उनका अनुसार पाँचौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । खुल्ला दौड (२५ कि.मि.) का विजेतालाई ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ भने महिला दौड (१० कि.मि.) का विजेतालाई १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।
यस्तै २१ वर्षभन्दा मुनिका खेलाडीहरूको दौड (१० कि.मि.) का विजेतालाई १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विद्यालयस्तरीय दौड (५ कि.मि.) का विजेतालाई १२ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र दिइने बताईएको छ । प्रतियोगितामा सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।
प्रतियोगितासँगै स्थानीय संस्कृति र परम्पराको प्रचार, साथै आन्तरिक पर्यटनको प्रोत्साहन गर्ने उद्देश्य रहेको संस्थाका अध्यक्ष सु.मे. दुतप्रसाद गुरुङले बताए । प्रतियोगिताको सफलता र सहयोगले थप ठूलो स्तरमा गतिविधिहरू संचालन गर्न प्रेरणा मिल्ने उनको विश्वास छ ।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ५ कार्यालयको व्यवस्थापनमा हुने प्रतियोगिता स्याङ्जा, पुतलीबजार, बिरुवा गाउँपालिका र तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्र समेटेर सञ्चालन हुनेछ ।
संस्थाद्वारा आयोजना गरिएको क्रसकन्ट्री दौड प्रतियोगिताले क्षेत्रीय स्तरमा पर्यटन र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ । यस सन्दर्भमा देश र विदेशका सहयोगी महानुभावहरूलाई आर्थिक र नैतिक सहयोगको लागि आयोजकले अपिल गरेको छ ।
२०७५ सालमा स्याङ्जा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यो संस्था निरन्तर रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू गर्दै आएको छ ।
संस्थाले हालसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूको आयोजनासँगै पर्यटन प्रवर्द्धनको लक्ष्य राख्दै काम गरिरहेको छ ।