पोखरा । पोखरामा सातौँ सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाइयो। प्रत्येक वर्ष मङ्सिर महिनाको ११ गते मनाइने यस दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले विशेष कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुभयो । उनले भने”असल श्रम सम्बन्धको आधार, सामाजिक सुरक्षा र रोजगार” भन्ने मूल नारामा आधारित कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै भने, “नेपाल जस्तो विकासशील देशमा सामाजिक सुरक्षा कार्यक्रमहरूको महत्व र आवश्यकता अझ बढी भएको छ, जसले नागरिकलाई वृद्धावस्था, अपाङ्गता, बेरोजगारी र चिकित्सा सेवामा वित्तीय सुरक्षा प्रदान गर्दछ।”
सामाजिक सुरक्षा कोषको स्थापना २०६७ सालमा भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७६ सालबाट मात्र सञ्चालनमा आएको थियो। हालको कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भइसकेको छ, जुन सरकार, निजी क्षेत्र, कर्मचारी र नियुक्त योगदानबाट सङ्कलन गरिएको हो। थापाले भने, “सुरुमा केवल औपचारिक क्षेत्रका श्रमिकका लागि सञ्चालन गरिएको यस कोष अहिले वैदेशिक रोजगार, अनौपचारिक क्षेत्र र स्वरोजगार सहित सबै श्रेणीका मजदुर र व्यवसायीलाई समेटेर सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको छ।”
सामाजिक सुरक्षा कोषकी उपनिर्देशक सिर्जना गौतमले पनि कोषको उद्देश्यलाई स्पष्ट गर्दै भनिन्, “कोषको मुख्य उद्देश्य समाजका हरेक सदस्यलाई गरिबी न्यूनीकरण गर्न, समृद्धि र स्वस्थ जीवनको लागि प्रेरित गर्नु हो। आगामी रणनीतिक योजना र रोड म्यापमा हामी प्रत्येक सदस्यलाई सरल र सुलभ योगदान दरमा सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने प्रतिबद्धता जनाउँछौं।”
कार्यक्रमको सञ्चालन सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश शाखाका कार्यालय प्रमुख रमेश ढुङ्गेलले गरेका थिए। यस कार्यक्रममा सामाजिक सुरक्षा कोषका महत्व र यसका लाभका बारेमा व्यापक छलफल भयो, जसले सबैलाई सामाजिक सुरक्षाको महत्त्व र आवश्यकतालाई बुझ्नमा मद्दत पुर्यायो।