पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीको प्रवक्तामा नवीन सिग्देललाई मनोनित गर्नु भएको छ। नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ।
सिग्देल कास्कीको १४औं जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका थिए र १३औं अधिवेशनबाट सदस्यको रुपमा निर्वाचित भई अघिल्लो कार्यकालमा तीन वर्षभन्दा बढी समय प्रवक्ताको भूमिका निर्वाह गरिसक्नु भएको छ। पार्टीका नीतिहरू र सिद्धान्तहरूको सफल कार्यान्वयनका लागि सिग्देलले पार्टीको सार्वभौम अधिकारको रक्षाका लागि सदैव सक्रिय र रचनात्मक सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
विद्यार्थी राजनीति र पत्रकारितामा आफ्नो पहिचान बनाएका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापति र नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष पनि हुन्। उहाँले भन्नुभयो, “पद सानो वा ठूलो जे भए पनि पार्टीको हितमा काम गर्न ठूलो अवसर ठानेर काम गर्नेछु। देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग र आदर्शका साथ पार्टीको नीतिलाई अगाडि बढाउनेछु।”
सिग्देलको मनोनयनसँगै, काँग्रेस कास्कीको आगामी गतिविधिहरूमा नयाँ नेतृत्व र उत्साहको आरम्भ हुने अपेक्षा गरिएको छ।