पोखरा । पोखरामा नेपाल,भारत,चीन त्रिदेशीय पर्यटन एक्स्पो हुने भएकाे छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिज्म काउन्सिल र अन्य प्रमुख पर्यटन संघसंस्था र संस्थाहरूसँगको सहकार्यमा त्रिदेशीय एक्स्पाे आयाेजना गरेकाे हाे ।
NICE (नेपाल-भारत-चीन एक्सपो) आगामी वर्ष २०२५ फेब्रुअरी २४ देखि २६ सम्म पाेखरामा हुने आयाेजकले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ ।
पाटा नेपाल च्याप्टरका संयोजक सुनिल बहादुर भट्टराईले एक्स्पोले पोखरालाई माईस पर्यटनका लागि एक प्रमुख गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने सहयाेग पुग्ने बताए ।
चीन र भारत, जो नेपालको प्रमुख पर्यटन स्रोत बजार हुन्, उनीहरूबाट आगमन हुने पर्यटकहरूको संख्या र व्यापारिक अवसरहरू बढाउन यो एक्स्पो महत्त्वपूर्ण कदम हुनेछ उनकाे विश्वास छ ।
समावेशी सहभागितासाथ आयोजना हुने नाईस एक्स्पाेलृ पर्यटन व्यवसायी र सरकारी निकायलाई एकै ठाउँमा ल्याई आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार र त्रिदेशीय पर्यटनको नयाँ सम्भावनाहरू उजागर गर्ने अवसर प्रदान गर्नेछ ।
एक्स्पाेकाे मूल उद्देश्य तिन छिमेकी मुलुकहरू बीचको पर्यटन व्यापारको प्रवर्द्धन गर्नु हो। यस कार्यक्रमले पोखरालाई माईस पर्यटनका लागि प्रमुख गन्तव्यको रूपमा प्रस्तुत गर्ने छ।
“NICE” एक्स्पो तीन देशका सार्वजनिक र निजी क्षेत्रका पर्यटन र आतिथ्य व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएर व्यापारिक अवसरहरू सिर्जना गर्ने, नयाँ नेटवर्क निर्माण गर्ने र साझा पर्यटन अवसरहरूमा छलफल गर्ने प्लेटफर्मको रूपमा कार्य अपेक्षा गरिएकाे छ ।
यस एक्स्पोमा १०० भन्दा बढी क्रेताहरु, ८० भन्दा बढी बिक्रेताहरु, र चीन र भारतका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्ताहरुको सहभागिता हुने बताइएकाे छ।
पाटा नेपाल च्याप्टरले यस ऐतिहासिक एक्स्पोका लागि नेपाल, भारत र चीनका पर्यटन व्यवसायी, सरकारी निकाय र संघसंस्थासँग निरन्तर सहकार्य र समन्वयको अपिल गरेको छ।
पोखरा महानगरपालिका र पोखरा पर्यटन काउन्सिलले कार्यक्रममा महत्वपर्ण भूमिका निर्वाह गर्नेछन् ।
यस एक्सपोले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र भारत र चीनसँगको पर्यटन सम्भावनालाई नयाँ आयाममा पुर्याउने विश्वास गरिएको छ ।
यो एक्स्पो पोखरा इभेन्ट सेन्टरमा हुने छ । एकस्पाेले नेपालको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।