पोखरा । पोखरा खानेपानी सुधार आयोजनाको निर्माण सम्पन्न भएका संरचनाको शुक्रवार उद्घाटन तथा हस्तान्तरण भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका निर्माण सम्पन्न भएका संरचनाहरुको नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् । उद्घाटनसँगै जाईकाले सम्पूर्ण संरचना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरेको छ ।
आयोजनाको संरचना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले अबदेखि पोखरेलीले शुद्ध पिउने पानी पाउने दाबी गरे । उनले भने,‘अवदेखि पोखरेलीले शुद्ध, सफा र प्रदुषितरहित खानेपानी पिउन पाउँनेछन् ।’
जाईकाले ४ अर्ब ८१ करोड रुपैयाँको अनुदान सहयोगमा यो आयोजना निर्माण गरेको हो । पोखरेलीलाई बुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले २०७६ सालमा शुरु गरेको आयोजना हालै सम्पन्न गरेको हो ।
आयोजना अन्तर्गत बालुवा हटाउने ट्याङ्की ४ वटा, पानी थिग्राउने ट्याङ्की ४ वटा, पानी छान्ने फिल्टर ६ वटा, सफा पानी संकलन ट्याङ्यकी ९३० घनमिटरका २ वटा, क्लोरिनेसन प्लान्ट, पानी पोखरीलगायतका संरचना निर्माण सम्पन्न भइसकेको जाइकाले जनाएको छ ।
त्यस्तै, पोखरा–५ प्रस्याङ र पोखरा–११ फूलबारीमा २०/२० लाख लिटर क्षमताका १/१ वटा पानी संकलन ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । पोखरा–१५ कोलपाटनमा सोहि क्षमताको अर्को पानी संकलन गर्ने ट्याङ्की निर्माण गर्ने भनिएपनि बनाउन बाधा पुगेको छ ।
त्यहाँ ट्याङ्कीको उचाई बढी देखिएको भन्दै नेपाल हवाई उड्डयन प्राधिकरणले निर्माण कार्य जारी रहँदा निर्माणमा रोक लगाएपछि हाललाई सो निर्माण कार्य स्थगित भएको हो । अब त्यसलाई पुर्ननिर्माण गर्ने कि उचाई घटाएर कम क्षमताको बनाउने भन्नेमा टुंगोमा पुगेर निर्माण सम्पन्न गरिने जाईका श्रोतले बताएको छ ।
यसबाहेक पोखरेलीलाई शुद्ध पिउने पानी वितरणका लागि १११ किलोमिटर पाइप जडानसमेत गरिसकेको जनाइएको छ । यो आयोजनापश्चात अब पोखरेलीको धारामा दैनिक ४ करोड लिटर पानी ट्रिटमेन्ट प्लान्टले शुद्ध र सुरक्षित रुपमा प्रशोधन गरी पठाउनेछ ।
उद्घाटन कार्यक्रममा खानेपानी आयोजना निर्माण सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।