नयाँ ट्रेकिङ रुटको खोजीमा टान गण्डकीको सकृयता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान (गण्डकी) ले नयाँ पदयात्रा मार्ग (ट्रेकिङ रूट)कोे खोजीमा सकृयता देखाएको छ । टान गण्डकीको टिम सोमवार मात्र  पर्वतको मोदी गाउँपालिका अन्तर्गत पर्ने नयाँपुल ताङले–भुमरकोट–फलाटे–डाँडाकमेरे–थामाको डिल–माटे–जलजला–मोहरेडाँडा हुदै उल्लेरी पदमार्गको खोज तथा अनुसन्धानका लागि पुगेको छ । सो पदमार्गको खोजका लागि टानले तीन रात चार दिनको समय छुट्याएको छ ।

पदयात्रा पर्यटन नेपालको महत्वपूर्ण पर्यटन हो । पदयात्रामा प्रकृतिसँगको सामिप्यतामा वनस्पति, वन्यजन्तु, चराचुरुंगी, हिमाल, पहाड, ग्रामीण परिवेशको रहनसहन संस्कृतिसँगै रमाउन सकिने यस पदमार्गलाई पदयात्रा र होमस्टेको लागि उत्कृष्ट गन्तव्य बनाउनको लागि टान गण्डकी सकृय रुपमा लागेको हो ।

पर्वत जिल्लाको माेदी गाउँपालिका वडा नम्वर ३ मापहिलो दिन भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिनाले पदयात्रा पर्यटनले नेपालको प्राकृतिक सुन्दरता, मनमोहक वातावरण, ऐतिहासिक सम्पदा लगायतका महत्वका स्थानहरुको अवलोकन गर्दै देशलाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको बताए । उनले सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्गहरु आवश्यक रहने उल्लेख गरे ।

पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उनको भनाई छ । नयाँपुल ताङले–भुमरकोट–फलाटे–डाँडाकमेरे–थामाको डिल–माटे–जलजला–मोहरेडाँडा हुदै उल्लेरी पदमार्ग पनि पदयात्रा गर्न चाहाने पदयात्रीको लागि आकर्षक गन्तव्य बन्न सक्ने उनको विश्वास छ । उनले पदयात्राको विकासले घरबास कार्यक्रमलाई सकारात्मक सहयोग पुगेको बताए ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल वस्यालले पर्यटन पूर्वाधार, पर्यटन प्रवद्र्धन, पर्यटकीय गतिविधिहरुको विविधिकरण तथा विस्तार गर्नको लागि प्रदेश सरकार सधैं तयार रहेको बताए ।

गण्डकी प्रदेश अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुभाषीय, बहुजातीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण रहेकाले यहाँको पर्यटन व्यवसायलाई बाह्रै महिना चलायमान बनाउन सकिएमा अर्थतन्त्रमा योगदान पुग्ने उनको विश्वास छ । उनले गण्डकी प्रदेशका हरेक जिल्ला र गाउँहरू पर्यटनमैत्री भएकाले पर्यटनबाटै जनस्तर परिवर्तन गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिको मनोरम दृश्यसँगै पर्यटन प्रवद्र्धन, ग्रामिण विकास तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाईँ लम्व्याउनको लागि टान गण्डकी नयाँ ट्रेकिङ रुटको खोजी कार्यमा सकृय भएर लागिरहेको बताए ।

ग्रामिण क्षेत्रका अवसर र सम्भावनाहरुको भरपुर उपयोग गर्न सकेमा स्थानिय, पर्यटन व्यवसायी र समग्र अर्थतन्त्रमा समेत यसको योगदान उल्लेख्य रुपमा बढ्न सक्ने उनको भनाई छ ।

पर्यटन व्यवसायको वृद्धि, विकास र आर्थिक चलायमानको लागि हामी निरन्तर लागिरहेका छौं । ’उनले भने–‘पर्वतीय पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि टान गण्डकी पर्यटन व्यवसायीको साथमा छ ।’

सबै व्यवसायहरू पदयात्रा पर्यटनबाट पाइने स्थानिय समुदाय तथा गाउँपालिकालाई राजश्व र अरु क्षेत्रबाट लिन सकिने फाईदाहरुको बारेमा अवगत हुनुुपर्ने उनको भनाई छ ।

टान गण्डकीको आयोजना उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीको सहयोग, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, अन्नपूर्ण संरक्षण क्षेत्र र स्थानिय पालिकाहरुको सहकार्यमा पदमार्गको खोज तथा अनुसन्धानको कार्यक्रम गरिएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्