२५ औं आदर्श कप फुटबल प्रतियोगिता : पोखरामा तयारी पूरा, फुटबलको विकासमा दृढ प्रतिबद्धता

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकस्थित लेखनाथ रंगशालामा यही मंसिर २२ गतेदेखि २९ गतेसम्म २५ औं आदर्श कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। आदर्श युवा क्लबको आयोजनामा हुने यो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक पदम गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूको स्तर तथा मनोबल वृद्धि गर्नु, शारीरिक र मानसिक विकासमा योगदान पुर्‍याउनु, र फुटबल खेलको प्रचार-प्रसार तथा विकास गर्नु रहेको छ।

साथै, खेलकुदमार्फत खेलाडीहरूबीच आपसी भाइचाराको विकास, नयाँ प्रतिभाको पहिचान, र उनीहरूलाई प्रोत्साहन प्रदान गर्नु प्रतियोगिताको प्राथमिकता हो। यसले क्षेत्रीय र राष्ट्रिय स्तरमा क्लबको पहिचान स्थापित गर्नाका साथै आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने आयोजकले विश्वास व्यक्त गरेको छ।

प्रतियोगितामा गण्डकी प्रदेशभित्रका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहनेछ। प्रथम हुने टोलीले नगद ४ लाख २५ हजार ५२५ रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद २ लाख २५ हजार ५२५ रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र पाउनेछ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट गोलरक्षक, र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। हरेक खेलका ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई ५ हजार रुपैयाँ नगद र ट्रफीको व्यवस्था गरिएको छ।

प्रतियोगिताको अनुशासित टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। दर्शकहरूलाई प्रोत्साहन गर्न प्रत्येक टिकटमा एनसेल नेटवर्कको सिम कार्ड निशुल्क उपलब्ध गराइनेछ भने यार्साटेक प्रालिबाट सामग्री खरिद गर्दा ३०० रुपैयाँ छुट प्रदान गरिनेछ। प्रतियोगिताको सेमिफाइनल खेलको टिकट दर १०० रुपैयाँ र फाइनल खेलको टिकट दर १५० रुपैयाँ तोकिएको छ।

यस वर्षको प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर २९ को संरक्षण र शौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको मुख्य प्रायोजनमा आयोजना हुँदैछ। अन्य सह-प्रायोजकहरूमा आदर्श हार्डवेयर, यार्साटेक प्रालि लगायत स्थानीय संघसंस्थाहरूको योगदान रहेको छ। प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५० लाख रुपैयाँ लागत लाग्नेछ।

प्रतियोगिताको नारालाई “निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने मूल भावका साथ अघि सारिएको छ। आयोजकले यस प्रतियोगिताबाट क्षेत्रीय खेलकुदको उन्नति र फुटबलप्रतिको उत्साहमा नयाँ ऊर्जा थपिने अपेक्षा गरेका छन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्