
पोखरा । रेवान पोखराले आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको २६ औं संस्करणको तयारी सुरु भएको छ। “सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ” भन्ने नाराका साथ यो महोत्सव आगामी पुस महिनामा झण्डै चार किलोमिटर क्षेत्रमा फैलिनेछ। महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ।
महोत्सवलाई थप आकर्षक र व्यवस्थित बनाउन बुधबार प्रायोजक, सहप्रायोजक, र सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल गरिएको छ। छलफलमा सहभागीहरूले महोत्सवको महत्त्वबारे चर्चा गर्दै यसलाई अझ व्यवस्थित बनाउन सुझाव दिएका थिए। रेवानका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव फिस्टेल गेटदेखि जरेवरसम्मको क्षेत्रफलमा सञ्चालन हुनेछ।
महोत्सवका संयोजक विकास भट्टराईले यस वर्ष सडक परिकार, सांगीतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद, र लेकसाइडका विभिन्न स्थानमा सांस्कृतिक गतिविधिहरू रहने जानकारी दिए। मुख्य स्टेज कोमागाने पार्कमा रहनेछ, जहाँ लाइभ ब्यान्ड र विभिन्न स्टलहरू पर्यटकको आकर्षणको केन्द्र बन्नेछन्।
कार्यक्रममा रेवानका सल्लाहकार समिति संयोजक गणेशबहादुर भट्टराईले महोत्सवले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताए। उनले महोत्सवलाई निरन्तरता दिन व्यवसायिक एकता र स्थानीय सहभागिता महत्त्वपूर्ण हुने बताए।
निवर्तमान अध्यक्ष नरेश भट्टराईले गोर्खा बुअरी, पेप्सी, खुकुरी रमलगायतका प्रायोजकहरूको निरन्तर सहयोगले महोत्सवलाई थप सबल बनाएको उल्लेख गरे। रेवानले महोत्सव सफल बनाउन पोखरेली समुदायलाई समेत सहयोगका लागि आग्रह गरेको छ।