वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवन उद्घाटन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल प्रहरी संगठनका प्रमुख, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा वडा प्रहरी कार्यालय बैदाम, कास्कीको नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारको नियमित बजेटबाट रु. १०,६०,३३,०१९।५७ लागतमा निर्माण गरिएको यस भवनमा कार्यालय, व्यारेक, हिरासत कक्ष, मेस भवन, र शौचालयजस्ता अत्याधुनिक सुविधाहरू समेटिएका छन्।

पोखरा उपत्यका नगर विकास समितिले उपलब्ध गराएको ५ रोपनी १२ आना जग्गामा मुख्य भवन र हिरासत भवन छुट्टाछुट्टै रूपमा निर्माण गरिएको हो।

RCC फ्रेम संरचनामा आधारित भवनमा चार तल्लाको कार्यालय र व्यारेक भवन, महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष, बालमैत्री कक्ष, र भान्साघर निर्माण गरिएको छ। नव निर्मित भवनले पुरानो टिनको छानाबाट हुने चुहावटको समस्या समाधान गर्दै प्रहरी कर्मचारी र सेवाग्राहीका लागि सहज र सुरक्षित वातावरण प्रदान गरेको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले निर्माण सम्पन्न भौतिक संरचनाले प्रहरीको कार्यक्षमता वृद्धि गर्दै जनतालाई अहोरात्र सुरक्षा प्रदान गर्न थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले अपराध नियन्त्रण र शान्ति स्थापनाका लागि प्रहरी एक्लै पर्याप्त नरहेको भन्दै स्थानीय तह र समुदायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। लागूऔषध नियन्त्रणका साथै अन्य आपराधिक गतिविधि नियन्त्रणमा नेपाल प्रहरी सक्रिय रहेको र सचेतनामूलक तथा दण्डात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रमका विशेष अतिथिहरूमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाली कांग्रेसका जिल्ला सभापति किसोर दत्त बराल, र पोखरा महानगरपालिकाका पूर्व मेयर मान बहादुर जिसी सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले दिनुभएको थियो भने प्राविधिक प्रतिवेदन ईन्जिनियर ध्रुव अधिकारीले प्रस्तुत गर्नुभएको थियो।

भवन निर्माणको क्रममा प्रहरी कार्यालयले दुई चरणमा काम सम्पन्न गरेको हो। पहिलो चरणमा रु. ५ करोड ४७ लाख ९० हजार २८ रुपैयाँको लागतमा कार्यालय/व्यारेक भवन निर्माण गरियो भने दोस्रो चरणमा रु. ५ करोड १२ लाख ४२ हजार ९९१ रुपैयाँमा हिरासत कक्ष र अन्य संरचनाहरूको निर्माण सम्पन्न भयो। कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्दै नव निर्मित भवनले जनताको सेवा र सुरक्षामा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो। यो भवनले प्रहरी सेवामा गुणस्तर वृद्धि गर्ने र प्रहरी कर्मचारी तथा सेवाग्राही दुवैलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्