
पोखरा । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले टेकिङ्ग एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पर्वत, म्याग्दी र कास्की जिल्लालाई जोड्ने नयाँ पर्यटकिय पदमार्गको खोज र अनुसन्धान कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमलाई गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्याल र राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका थिए। अनुसन्धान अन्तर्गत पदमार्गमा समेटिएका स्थानहरूमा हिमालका मनोरम दृश्य, ग्रामीण जीवनशैली र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्रहरू रहेको पाइएको छ।
अन्नपूर्ण सर्किटको वैकल्पिक रुट हालै सडक विस्तारपछि पर्यटकहरूको आकर्षण बढेको छ। यस नयाँ पदमार्गले पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको घोरेपानीसम्म जोडिएको छ र विभिन्न रमणीय गन्तव्यहरू पार गर्दै पर्यटकलाई सांस्कृतिक र प्राकृतिक विविधतासँग परिचित गराउँछ।
यो मार्गलाई १३ वर्षअघि पहिचान गरिएर हालको रुटमा विस्तार गरिएको हो । विभिन्न होमस्टे र विश्राम स्थलहरू सहित पर्यटकलाई रमाईलाे अनुभव प्रदान गर्छ।
यस ट्रेलले युरोपियन, कोरियन, अष्ट्रेलियाली र अन्य अन्तर्राष्ट्रिय पर्यटकसँगै नेपाली यात्रुलाई पनि आकर्षित गर्दै आएको छ। ट्रेलको विकासमा सरकारी र स्थानीय निकायको योगदान महत्त्वपूर्ण छ, र यसले स्थानीय समुदायलाई आर्थिक लाभ पनि पुर्याउँछ। पर्यटकहरूले यस मार्गमा तीन दिनको समयमा घोरेपानीसम्मको यात्रा पूरा गर्न सक्छन् र मार्गको आकर्षणमा हिमालका दृश्य, वन्यजन्तु र सांस्कृतिक अनुभवहरू समावेश छन्।
चार दिनसम्म सञ्चालन भएको यस कार्यक्रममा ५४ जनाको सहभागीता रहेको थियो। सहभागीहरूले नयाँपुल,ताङले,भुमरकोट,फलाटे,डाँडाकमेरे,थामाकोडिल,माटे,जलजला,मोहरेडाँडा,ताप्राङ,बनठाँटी सम्मको यात्रा गरी यो मार्गलाई ग्रामीण पर्यटनको नयाँ सम्भावनाको रूपमा प्रस्तुत गरेका छन्। यस पदमार्गको प्रमुख आकर्षणमा मोहरेडाँडा र जलजला क्षेत्र पर्छन्, जहाँबाट हिमालय श्रृंखलाका अविस्मरणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ।
राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पदयात्रा पर्यटनले नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, र ऐतिहासिक सम्पदाको प्रचार गर्दै मुलुकलाई विश्वमाझ चिनाउन उल्लेखनीय योगदान गरेको बताए। उनले भने, “सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्गहरूको विकास आवश्यक छ ।
नयाँपुल,ताङले,भुमरकोट,फलाटे,डाँडाकमेरे,मोहरेडाँडा हुँदै उल्लेरी पदमार्ग पदयात्राका लागि आकर्षक गन्तव्य बन्न सक्छ।” उनले पदयात्राको विकासले घरबास कार्यक्रम र स्थानीय समुदायलाई आर्थिक फाइदा पुर्याउने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालले गण्डकी प्रदेशको अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, र सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्रलाई पर्यटनका माध्यमबाट चलायमान बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको बताए। उनले भने, “पर्यटन पूर्वाधारको विकास, विविधिकरण, र पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार सधैं तयार छ। गण्डकी प्रदेशका हरेक गाउँ र जिल्ला पर्यटनमैत्री भएकाले पर्यटनबाटै आर्थिक परिवर्तन ल्याउन हामी सक्रिय छौं।”यसका साथै,गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ विनियोजन गरेर अन्नपूर्ण सर्किटको वैकल्पिक रुटको विस्तारमा थप सहयोग पुर्याएको छ।
कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिको मनोरम दृश्यसँगै ग्रामीण पर्यटन प्रवर्द्धन र नयाँ ट्रेकिङ रुटहरूको खोजीमा टान गण्डकीले सक्रियता देखाएको बताए। उनले भने, “ग्रामिण क्षेत्रका अवसर र सम्भावनाको भरपुर उपयोग गर्न सकेमा स्थानिय समुदाय, पर्यटन व्यवसायी र समग्र अर्थतन्त्रमा यसले उल्लेखनीय योगदान गर्नेछ। पर्वतीय पर्यटनलाई सुरक्षित, मर्यादित, र दिगो बनाउन टान गण्डकी नीतिगत सुधारका लागि सधैं प्रतिबद्ध छ।”
यस पदमार्गको अध्ययनले गण्डकी प्रदेशको ग्रामीण क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन नक्शामा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सहभागीहरूले यसले स्थानीय आयआर्जनमा वृद्धि गर्ने र पर्यटकीय गतिविधिलाई विविधिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
टान गण्डकीका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक तिर्थराज सुबेदीले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि यो मार्ग निकै महत्वपूर्ण रहेको बताए। उनले भने, “यो पदमार्गले गण्डकी प्रदेशका ग्रामीण क्षेत्रको आर्थिक गतिविधिलाई नयाँ उचाइमा पुर्याउनेछ। स्थानीय संस्कृतिको संरक्षण, ग्रामीण जीवनशैलीको प्रवर्द्धन, र पर्यटकको बसाइ लम्ब्याउने हाम्रो उद्देश्य यस परियोजनाबाट पूरा हुनेछ। पर्यटनले ग्रामीण भेगमा स्वरोजगारका नयाँ अवसरहरू सिर्जना गर्नेछ।”
पदमार्गका आसपासका गाउँहरूमा होमस्टे सञ्चालन गर्न सकिने, स्थानीय उत्पादनहरूलाई पर्यटकहरूबीच लोकप्रिय बनाउन सकिने र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान दिन सकिने सम्भावना अध्ययनले देखाएको छ। यसले पर्यटकहरूलाई नयाँ अनुभव दिनेछ भने स्थानीय जनतालाई आयआर्जनको नयाँ स्रोत प्रदान गर्नेछ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले यो पदमार्गलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याए। मोदी गाउँपालिका का वडा अध्यक्षहरू टेकबहादुर गुरुङ, बेलबहादुर कार्की र देवेन्द्र बहादुर क्षेत्रीले पदमार्गको विकासले क्षेत्रको पर्यटनमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे।
यस खोज तथा अनुसन्धानले गण्डकी प्रदेशको पर्यटनलाई नयाँ आयाम दिन सक्ने देखाएको छ। टान गण्डकीका सदस्य भुपेन्द्र गौतमले भने , “ग्रामीण क्षेत्रमा रहेका थुप्रै प्राकृतिक र सांस्कृतिक सम्पदाहरू अझै ओझेलमा छन्। यस्ता सम्पदाहरू उजागर गरी स्थानीय समुदायलाई समृद्ध बनाउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ।”
पर्यटन क्षेत्रलाई समृद्ध बनाउन प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, र स्थानीय निकायहरूको सहकार्यमा अब पदमार्गको पूर्वाधार निर्माण, प्रचारप्रसार र व्यवस्थापनका कार्य अघि बढाइनेछ। यस कार्यक्रमले ग्रामीण पर्यटनको भविष्यलाई उज्यालो बनाउने विश्वास लिइएको छ।
तस्बिरहरू: