
पोखरा। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले गण्डकीका पर्यटन गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले ‘अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। यो कार्यक्रम शनिवारदेखि आगामी शुक्रवारसम्म मधेश र कोशी प्रदेशका प्रमुख सहरहरूमा हुनेछ।
गण्डकी प्रदेशका ११ जिल्लाभित्रका टुर एण्ड ट्राभल व्यवसायीहरूको सहभागिता रहेको नाट्टा गण्डकीले पर्यटकीय राजधानी पाेखरालाई थप प्रचार गर्नेछ । यस अभियानले गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार, पर्यटन व्यवसायको प्रवर्द्धन, र आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्य राखेको छ।
उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले विगतमा पूर्वाधार विकासमा ध्यान दिएको उल्लेख गर्दै अब प्रमोशनलाई प्राथमिकता दिइरहेका बताए ।
कार्यक्रम संयोजक संगिता पौडेलले व्यवसायी भएकाले अहिले व्यवसाय प्रवर्द्धन गर्नुपर्छ भन्दै सांस्कृतिक ग्राफिक्सहरू देखाएर कुनै पनि मौसममा पर्यटक आकर्षित गर्न सक्ने बताईन्।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालका अनुसार जनकपुर, इलाम, र विराटनगरमा कार्यक्रम सञ्चालन गरी त्यहाँका सरकारी र स्थानीय निकायहरू, पर्यटन व्यवसायी, उद्योगी, र पत्रकारहरूसँग अन्तरक्रिया गरिनेछ। कार्कीले यस क्रममा गण्डकी प्रदेश भ्रमणका लागि प्रेरित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने योजना रहेको बताए।
कार्यक्रममा करिब ३० देखि ३५ जनाको सहभागिता रहनेछ। गण्डकी प्रदेश सरकारअन्तर्गत उद्योग तथा पर्यटन मन्त्रालयको सहकार्यमा सञ्चालन हुने यस अभियानले प्रदेशस्तरीय पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नाट्टाले विगतमा पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न अवलोकन भ्रमण र प्रचारात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको थियो। यस प्रकारका पहलले गण्डकी प्रदेशको संस्कृति, परम्परा, र प्राकृतिक सौन्दर्यलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुर्याएको छ।
कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, महासचिव चेत बहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमान सिंह गुरुङ, नाट्टा गण्डकीका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता पौडेल, र अन्य पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको छ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको सन्दर्भमा यहाँका पर्यटन गतिविधि बढाउन नाट्टाले आगामी दिनमा थप प्रवर्द्धनात्मक कार्यक्रम गर्ने योजना समेत सार्वजनिक गरेको छ।