नवौं पर्वतीय महोत्सव आइतबारदेखि सुरू

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा नवौं पर्वतीय महोत्सव आइतबार मङ्सिर २३ गतेदेखि सुरू हुँदैछ। नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको संयुक्त आयोजनामा पाँच दिनसम्म चल्ने यो महोत्सव पर्वतीय सभ्यता, संस्कृति, कला, पर्यावरण र पर्यटनबारे विविध गतिविधि र अन्तर्क्रिया कार्यक्रमसहित मनाइनेछ।

संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यापानेका अनुसार महोत्सवमा संग्रहालयको सभाकक्षमा हरेक दिन पर्वतीय जीवन, पर्यटन, जलवायु परिवर्तनलगायतका विषयमा अन्तर्क्रिया हुनेछ। संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङजस्ता रोमाञ्चक गतिविधि पनि सञ्चालन गरिनेछ।

महोत्सवमा सहभागी हुने आगन्तुकका लागि संग्रहालय प्रवेश निःशुल्क गरिएको छ। आयोजकले ५० हजारभन्दा बढी आगन्तुक आकर्षित हुने अपेक्षा गरेका छन् भने महोत्सव सम्पन्न गर्न ३२ लाख रुपैयाँ खर्च हुने अनुमान छ।

नेपालका हिमाली संस्कृति र पर्यावरणबारे जानकारी लिन चाहनेहरूका लागि यो महोत्सव विशेष महत्वको हुनेछ। महोत्सवको माध्यमबाट पर्वतीय क्षेत्रका जीवनशैली, पर्यावरणीय चुनौती र अवसरबारे जनचेतना बढाउन योगदान पुग्ने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्