पोखरा । नेपालको मोटरस्पोर्ट्स नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ फेडेरेसन इन्टरनेसनल दी मोटरसाइकल (एफआईएम) को प्रतिष्ठित ‘वुमन इन मोटरिङ’ अवार्ड प्राप्त गरेको छ। स्पेनको तटीय पर्यटकीय शहर पाल्मा मालोरकामा सम्पन्न एफआईएमको १२०औं स्थापना दिवस तथा वार्षिक साधारण सभामा यो अवार्ड प्रदान गरिएको हो।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईलाई एफआईएम वुमन इन मोटरसाइकलिङकी प्रमुख लातभियाकी यनिका युले अवार्ड प्रदान गरेकी हुन्। यो अवार्ड नेपाली खेलकुद इतिहासमा महिलाको नेतृत्वलाई संस्थागत गर्न, मोटरसाइकलमार्फत महिला सशक्तिकरणको अभियान चलाउन, रेसिङ, र्याली र रोड सेफ्टीमा महिलाको सहभागिता सुनिश्चित गर्न तथा संघका विभिन्न आयोगमा महिलाको नेतृत्व स्थापित गर्न गरिएका कार्यहरूको आधारमा प्रदान गरिएको हो।
स्पेनमा आयोजित कार्यक्रममा १०० भन्दा बढी देशका एक हजारभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। एफआईएमले वुमन इन मोटरिङ अवार्डसहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर इन मोटरसाइकलिङ, वातावरण र दिगोपनजस्ता चार अन्य विधामा पनि अवार्ड वितरण गरेको थियो।
विगत १६ वर्षदेखि मोटरस्पोर्ट्समा क्रियाशील नासा नेपालले अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), युनियन इन्टरनेसनल मोटरबोटिङ (यूआईएम), र एफआईएमसँग आबद्ध हुँदै अन्तर्राष्ट्रिय गतिविधिमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ।
अवार्ड ग्रहण गर्दै कार्यकारी निर्देशक भट्टराईले यो सम्मान सम्पूर्ण नेपाली खेलकुद, अटोमोबाइल क्षेत्र, राइडर, ड्राइभर, अफिसियल, र विशेषगरी महिलाहरूका लागि ऐतिहासिक क्षण भएको बताए। मोटरसाइकल र रोड सेफ्टीजस्ता विषयहरूमा नासा नेपालको योगदानलाई विश्व स्तरमा प्रशंसा गरिएको छ।