पोखरा ।गण्डकी प्रदेशस्तरीय अन्तरपालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता मंसिर २५ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा अन्नपूर्ण गाउँपालिका बास्केटबल संघका अध्यक्ष कृपाश्वर गुरुङले प्रतियोगिताको उद्देश्य र पुरस्कारबारे जानकारी दिए। “कृषि, पर्यटन, र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गर्दै खेलकुदको माध्यमबाट युवाहरुलाई एकजुट गर्दै प्रदेशका ११ जिल्लाका पालिकाबाट खेलाडीलाई सहभागी गराउन यो प्रतियोगिता आयोजना गरिएको हो।”
उहाँका अनुसार, प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। पुरुषतर्फ विजेताले १ लाख १५ हजार १ सय ११, उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ पनि विजेताले ३० हजार, उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँनेछन्।
प्रतियोगितामा सहभागी हुन पुरुषको १२ हजार रुपैयाँ र महिलाको २ हजार ५ सय रुपैयाँ शुल्क राखिएको छ। यसका अतिरिक्त पुरुष विधागतर्फ बेस्ट डिफेन्सिभ प्लेयर, बेस्ट अफेन्सिभ प्लेयर, र एमभीपी लाई नगद १५/१५ सय पुरस्कार दिइनेछ। साथै, अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने पनि आयोजकले जानकारी दिएका छन्। महिलातर्फ भने अफेन्सिभ प्लेयर र एम्भिपीलाई नगद १५/१५ सय रुपैयाँको पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा पुरुष बास्केटबल ५×५ र महिला बास्केटबल ३×३ मा खेलाइनेछन्। अन्नपूर्ण गाउँपालिका बास्केटबल संघका अध्यक्ष गुरुङले उक्त प्रतियोगिताको माध्यमबाट युवाहरूलाई खेलकुदमा आकर्षित गर्दै विकासमा सहजिकरण हुने विश्वास व्यक्त गरेका छन्।
यस प्रतियोगिता गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट खेलाडीको सहभागिता हुने अपेक्षा गरिएको छ। खेलको तयारी र प्रतिस्पर्धा हेर्दा उत्साहका साथ प्रतियोगिता सुरु हुन लागेको छ।










