नवौं पर्वतीय पर्यटन महोत्सव शुरु : साहसिकता, दिगोपन र स्थानीय विकासको उत्सव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा नवौं पर्वतीय पर्यटन महोत्सव आईतवारदेखि सुरु भएको छ। पाँच दिनसम्म चल्ने यो महोत्सवले हिमाली क्षेत्रका समस्या, साहसिक पर्यटन, र स्थानीय उत्पादनको प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले महोत्सवले नेपालको हिमालहरूको महत्त्व र यहाँका पर्यटकिय सम्भावनाहरूलाई विश्वभर पुर्‍याउन सघाउने बताए । पर्यटन व्यवसाय र स्थानीय उत्पादनको प्रोत्साहनमा महाेत्सव महत्त्वपूर्ण कोसेढुङ्गा हुने उनकाे भनाई छ ।

गण्डकी प्रदेश सभा सांसद सरस्वती गुरुङले नेपालको समृद्धिमा हिमालहरूको योगदानको चर्चा गर्दै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई संघीय संरचनामा समावेश गर्नुपर्नेमा जोड दिईन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टंक प्रसाईंले गण्डकी प्रदेशका ११ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र हिमाली पर्यावरणको संरक्षणमा जोड दिने जानकारी दिए ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्याैपानेले महोत्सवले हिमाली जनजीवन र समस्याहरूको उजागर गर्दै साहसिक पर्यटन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताईन्। उनका अनुसार, यो महोत्सवले हिमाली पर्यावरणको सन्तुलन र स्थानीय अर्थतन्त्र सुधारमा विशेष योगदान पुर्‍याउनेछ।

कार्यक्रमका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पाले हिमाली भेगका जनताको जीवनशैली र समस्याहरू उजागर गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। डव्लुडव्लुएफका प्रतिनिधि राजेन्द्र सुवालले वातावरण संरक्षण र प्राकृतिक स्रोतहरूको दिगो उपयोगमा महोत्सवले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

महोत्सवको पहिलो दिन संग्रहालय परिसरमा तीरंदाजी, बोल्डरिङ, र जिपलाइनिङजस्ता साहसिक गतिविधिहरू आयोजना गरियो। यी गतिविधिहरूले साहसिक खेलकुदमा युवाहरूको चासो बढाउने अपेक्षा गरिएको छ। पहिलो दिन “पर्वतीय जीवनको अनुकूलन र भविष्यका चुनौतीहरू” विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो।

महोत्सवको दोस्रो दिन पहाडी पर्यटनका अवसरहरूको चर्चा गरिनेछ भने तेस्रो दिन पहाडी क्षेत्रका शौचालयहरूको महत्त्वबारे अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। यस महोत्सवले हिमाली क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरणलाई प्रोत्साहन गर्दै ५० हजारभन्दा बढी पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको छ।

यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनलाई थप बलियो बनाउँदै स्थानीय विकास र हिमाली पर्यावरण संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्