
पोखरा । पोखराका पर्यटन व्यवसायी महिलाहरु पर्यटन प्रवर्द्धनमा सक्रिय हुँदै आइरहेका छन्। यही अभियानलाई थप उचाइ दिन पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवन पुगेको छ। टेवानको नेतृत्वमा रहेको टोलीले पोखरा र चितवनको पर्यटन विकासका सम्भावनाबारे छलफल गर्दै विभिन्न कार्यक्रम आयोजना गरेको छ।
संस्थाको स्थापनाको सातौं वार्षिकोत्सवको अवसरमा अध्यक्ष कमला गिरीको नेतृत्वमा सोमबार चितवनतर्फ प्रस्थान गरेको टोलीले सौराहास्थित थकाली किचन एण्ड होटल सूर्योदयमा चितवनका पर्यटनसम्बन्धी संघसंस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी, ब्रोसर वितरण, र चितवनका पर्यटकलाई पोखरा भ्रमणको निमन्त्रणा दिने कार्य गरिएको छ।
रत्ननगर नगरपालिकाको प्रवर्द्धनमा आयोजना गरिएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ चितवन, रेवान, र साना पर्यटन व्यवसायी संघ चितवनले सहकार्य गरेका छन्। भ्रमणमा टेवानका पदाधिकारी, कार्यसमिति सदस्य तथा ३२ जना पर्यटन व्यवसायी महिलाहरूको सहभागिता रहेको छ।
२०७४ सालमा ‘दिगो पर्यटनका लागि समान सहभागिता’ नाराका साथ स्थापना भएको टेवानले विभिन्न कार्यक्रम गर्दै आएको छ। यस वर्ष दोस्रो संस्करणको ‘तीज सांस्कृतिक महोत्सव’ सफलतापूर्वक सम्पन्न गरेको संस्थाले यसअघि अन्तरप्रदेश पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत मधेश प्रदेश, साथै थाइल्याण्ड, सिंगापुर र मलेसियामा १० दिने भ्रमण सम्पन्न गरेको थियो।
पोखराको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राख्दै टेवानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।