
पोखरा । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ पोखरामा २६ औं संस्करणकाे सडक महाेत्सव हुने भएकाे छ
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराद्वारा आयोजित यस महोत्सव आगामी पुस १३ देखि १७ सम्म लेकसाइडमा हुनेछ।
महाेत्सवमा पाँच दिनसम्म नेपाली कला, संस्कृति, तथा पर्यटन प्रवर्द्धन गर्ने गतिविधिहरू सञ्चालन हुनेछन्।
यस वर्षको महोत्सवले विशेष गरी आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरामा आकर्षित गर्ने लक्ष्य लिएको छ। पोखराको लेकसाइड क्षेत्रको झन्डै ३ किलोमिटर क्षेत्रमा सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरूको प्रदर्शनी, लाइभ कन्सर्ट, झाँकी प्रतियोगिता, खेलकुदका कार्यक्रम, बोट रेस, बेटर रेस, तथा सामाजिक चेतनाका कार्यक्रमहरू महोत्सवमा समेटिनेछन्।
रेवान पोखराका कार्यबाहक अध्यक्ष विश्वराज पौडेलले पोखरामा पर्यटकलाई आकर्षित गर्दै सांस्कृतिक कार्यक्रम, खेलकुद, हस्तकला प्रदर्शनी, र खानाका परिकारहरूको माध्यमबाट मनोरञ्जनको अवसर प्रदान गर्नु महोत्सवको उद्देश्य रहेकाे बताए ।
“२५ वर्षदेखि यो महोत्सव थप विविध र रमाइलो कार्यक्रमका साथ आयोजना हुँदै आएको छ।”उनले भने-“महोत्सवमा सबैको सक्रिय सहयोग र सुझावको अपेक्षा गरेका छाैं ।”
महोत्सवको संयोजक विकास भट्टराईले पोखरा सडक महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने राम्रो अवसर प्रदान गरेको बताए ।
यो महोत्सवले सांस्कृतिक झाँकी, हस्तकला प्रदर्शनी, कृषि उपजहरू, चित्रकला, मूर्तिकला, वनस्पति उत्पादनहरू, र साहसिक खेलकुदको डकुमेन्ट्री प्रदर्शनीमा प्राथमिकता राख्दै आकर्षक गतिविधिहरू प्रस्तुत गर्नेछ।
यो महोत्सव नेपाली र विदेशी पर्यटकका लागि रमाइलो, सांस्कृतिक र नयाँ अनुभवको गन्तव्य स्थल बन्ने विश्वास गरिएको छ।यस महोत्सवले पोखरामा आर्थिक गतिविधि, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने सम्भावना देखिन्छ।
पोखरामा सडक महोत्सवको २५ वर्षको निरन्तरताले पर्यटकहरूको संख्या वृद्धि गर्न सफल भएको र सांस्कृतिक रूपमा समेत ठूलो अवसरका रूपमा स्थापित भएको विश्वास गरिएको छ।
यस महोत्सवमा अनुमानित ५ लाख दर्शक सहभागी हुने अनुमान गरिएको छ । आयोजकले विभिन्न स्थानमा स्थानीय व्यवसाय, उत्पादकहरू र पर्यटकीय सेवा प्रदायकहरूको स्टललाई सजाउने तयारी पनि गरेका छन्।
महोत्सवमा सहभागी व्यवसायीहरूले आफ्ना उत्पादनहरू, सेवाहरू, र पर्यटनलाई प्रवर्द्धन गर्न थप अवसर पाउनेछन्।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा बुअरी प्रालिको टुबोर्ग बियर रहेको छ भने सहप्रायोजकमा ज्याक इनियल, पेप्सी, खुकुरी रम र जिंक रहेका छन्।
यस महोत्सवको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद समेत समन्वयमा जुटेका छन्।