पोखरा । पोखराको लेकसाइडस्थित बाराही घाट खेल मैदानमा पौष १० देखि १२ गतेसम्म थाई-बक्सिङको राष्ट्रिय प्रतियोगिता “कन्टेन्डर सिरिज–२” आयोजना हुँदैछ।
शक-यान मुवाँथाई क्लब पोखराको आयोजनामा र गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवद्र्धनमा हुन लागेको यो प्रतियोगिताले व्यवसायिक खेलकुद र खेल पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। प्रतियोगितामा पाँच प्रदेशका ८४ जना खेलाडीको सहभागिता रहनेछ, जसमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछन्।

प्रतियोगितामा पुरुष प्रोफेशनलतर्फको मुख्य फाइट विजेताले नगद ५०,००० र उपविजेताले २०,००० प्राप्त गर्नेछन् भने महिलातर्फ विजेताले नगद ३०,००० र उपविजेताले १५,००० जित्नेछन्। अन्य ८/८ फाइटका विजेताले नगद १५,०००, उपविजेताले १०,००० नगद, मेडल र प्रमाणपत्र पाउनेछन्।
पुरुष कोमेन इभेन्टका विजेताले नगद २५,००० र उपविजेताले १५,००० पाउनेछन्। पोखराभन्दा बाहिरबाट आउने खेलाडीलाई विशेष आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्नुका साथै आवास सुविधा पनि दिइने आयोजकले जनाएको छ। त्यस्तै, तीन जना उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान गरिनेछ।

प्रतियोगिता बिहान ११ बजे सुरु भएर राति ९ बजेसम्म चल्नेछ। खेलस्थलमा खेलसँगै विभिन्न फूड स्टल, फन गेम्स र निःशुल्क फेस पेन्टिङको सुविधा पनि उपलब्ध हुने आयोजकले जनाएको छ।
नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्वीकृति तथा प्राविधिक सहयोगमा हुने प्रतियोगिताको सञ्चालन चर्चित होस्ट रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख खर्च हुने अनुमान गरिएको छ।
यो प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने विश्वास गरिएको छ। खेलकुदप्रेमीका लागि मात्र नभई आम दर्शकका लागि पनि यस प्रतियोगिताले थप मनोरञ्जन र रोमाञ्चकता दिनेछ।











