
पोखरा । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालय (CCSAS) को संयुक्त आयोजनामा पोखरामा सम्पन्न ‘फेवा संवाद २०२४’ कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।
कार्यक्रममा उनले नेपालजस्ता साना अर्थतन्त्रका लागि दिगो विकास, जलवायु न्याय, र अन्तर्राष्ट्रिय सहकार्यका महत्त्वपूर्ण आयामहरूमा गहिरो दृष्टिकोण प्रस्तुत गरिन् ।
उनले दक्षिण र दक्षिणपूर्व एसियाली मुलुकहरूबीचको आपसी समझदारी र सहकार्यलाई प्रगाढ बनाउन यस्ता मञ्चको महत्त्व औंल्याउँदै, नेपालले आफ्नो कमजोर आर्थिक अवस्थालाई बलियो बनाउन कृषि व्यवसायीकरण, पूर्वाधार विकास, र सेवा क्षेत्र विस्तारमा लगानी आवश्यक रहेको बताईन्।
नेपालले जलवायु परिवर्तनबाट अन्यायपूर्ण असर भोगिरहेको बताउँदै, पूर्व राष्ट्रपति भण्डारीले विकसित मुलुकहरूले आफ्नो जिम्मेवारी बहन गर्दै जलवायु जोखिममा रहेका देशहरूलाई वित्तीय सहयोग र प्रविधि उपलब्ध गराउनुपर्नेमा जोड दिईन। उनले हरितगृह ग्यास उत्सर्जन नगर्ने नेपालजस्ता हिमाली राष्ट्रहरूको संरक्षणका लागि जलवायु न्याय आवश्यक रहेको बताईन्।
उाले दक्षिणपूर्वी एसियाली मुलुकहरूको विकासबाट सिक्नुपर्ने भन्दै, मलेसियाको समतामूलक विकास, सिंगापुरको कुशल व्यवस्थापन, र चीनको तीव्र आर्थिक प्रगति नेपालका लागि प्रेरणादायी रहेको उल्लेख गरिन्। भारत र चीनजस्ता छिमेकी मुलुकहरूले हासिल गरेको प्रगति र नेपाललाई प्रदान गरिरहेको सहकार्यले नेपालको आर्थिक वृद्धिमा बल पुर्याउने विश्वास व्यक्त गरिन्।
उनले युद्ध, द्वन्द्व, र विनाशकारी हतियार उत्पादनले विश्वव्यापी शान्ति र विकासमा पारिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै, ती स्रोत र साधनलाई विकासका लक्ष्यतर्फ मोड्नुपर्ने आवश्यकता औंल्याईन् ।
नेपालका युवाहरू विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम हुँदै गएकाले अब नेपाल उज्यालो भविष्यतर्फ अघि बढ्न तयार रहेको उनको भनाइ थियो। ‘फेवा संवाद’ जस्ता कार्यक्रमहरूले नेपाल र अन्य दक्षिण एसियाली राष्ट्रहरूबीच सहकार्य र विचार आदानप्रदानमा नयाँ उचाइ थप्ने विश्वास पनि उनले व्यक्त गरिन्।