अन्नपूर्ण गाउँपालिकामा सवारी दुर्घटना, पाँचजना घाइते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । अन्नपूर्ण गाउँपालिका-१० बिकासे डाँडामा बिहीबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो सडकबाट करिब ६०० मिटर तल खसेको हो। गाडी भिरमा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको छ।

गाडीमा पोखरा महानगरपालिका-१६ निवासी रिहाना थकाली, मुस्ताङ थासाङ गाउँपालिका-१ टुकुचे निवासी ज्योती खत्री थकाली र भिम कुमारी थकाली, बागलुङ गलकोट नगरपालिका-१ झाँक्रीस्थान निवासी खिम कुमारी खत्री, नविना खत्री, र अनिता खत्री सवार थिए। दुर्घटनामा रिहाना थकाली, ज्योती खत्री थकाली, खिम कुमारी खत्री, नविना खत्री र भिम कुमारी थकाली घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था मध्यम छ भने भिम कुमारी थकालीको अवस्था गम्भीर रहेको छ।

गाडीका चालक स्याङ्जा भिरकोट नगरपालिका-२ डाँडाकोट निवासी गोबिन्द श्रेष्ठ सकुशल रहेका छन्। दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

घटनास्थलमा घान्द्रुक प्रहरी चौकी, बिरेठाँटी प्रहरी चौकी, र वडा प्रहरी कार्यालय बगरबाट टोली खटाइएको थियो। प्रहरीले गाडीमा फसेका घाइतेहरूको उद्धार गरी उपचारका लागि तत्काल अस्पताल पठाएको छ। गाडी हाल घटनास्थलमै रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्