सूर्यदर्शन सहकारी प्रकरणमा १९ प्रतिवादीविरुद्ध थप अभियोग दर्ता

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा १९ जनाविरुद्ध थप बिगो माग दाबी गर्दै पूरक अभियोग दर्ता गरिएको छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनामाथि कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार पूरक अभियोग दर्ता गरेको हो। यसअघि १ अर्ब ११ करोड १९ लाख बिगो माग गरिएकोमा थप गरी अब १ अर्ब ५१ करोड बिगो कायम गरिएको छ। अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार जीबी राईसहित १६ जनाविरुद्ध सहकारी ऐन र संगठित अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ। जीबी राईमाथि सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनसमेत लागू गरिएको छ।

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र डीआईजी छविलाल जोशीसमेत ५१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाउनुपर्ने सुझावसहित प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। लामिछाने र जोशीविरुद्धको अभियोगपत्र भने आइतबार दर्ता गरिने तयारी गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कमला काफ्लेका अनुसार पूरक अभियोग दर्ता दुई चरणमा हुने भएको छ। शुक्रबार केही प्रतिवादीविरुद्ध अभियोग दर्ता गरिए पनि बाँकी प्रतिवादीका लागि आइतबारसम्म समय सीमा राखिएको छ।

शुक्रबार दर्ता गरिएका १९ प्रतिवादी फरार रहेको जनाइएको छ। यो प्रकरणले सहकारी क्षेत्रको वित्तीय अनुशासन र कानुनी प्रक्रियामा चुनौती खडा गरेको छ। यसबारे न्यायिक प्रक्रियाले के निर्णय गर्छ भन्ने प्रतीक्षा गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्