पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएकाे छ । पुस ९ देखी १७ गते सम्म सञ्चालन हुने महोत्सवमा एकै पटक १७ वटा बेलुनहरु पाेखराकाे आकाशमा उड्ने छन् ।

पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा हुने बेलुन महोत्सवमा १५ देशका पाइलट सहभागि हुने भएका छन् ।

बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न महोत्सव आयोजना गरिएको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीका अनुसार क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको बेलुन महोत्सवमा हालसम्म करिब १० देशका बेलुन पाइलटहरु पोखरा आईसकेका छन् भने केही भोलिसम्म आइपुग्नेछन्।महोत्सवमा नेपालका चर्चित राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुति हुने जानकारी दिँदै अध्यक्ष पहारीले पोखरामा पर्यटक भित्र्याउने नयाँ बहाना बेलुन महोत्सव बनेको बताए।

 पामेको आकाशमा बेलुन उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जमिनको सतहदेखि ५ हजारफिट उचाइसम्म उड्न पाउनेगरि सीमा तोकिदिएको छ ।

बेलुनमा सयर गर्दा नेपालीले प्रतिव्यक्ति ११ हजार शुल्क तिनुपर्छ । त्यस्तै सार्क मुलुक र चीनका पर्यटकले प्रतिव्यक्ति १ सय २० र अरु मुलुकका विदेशीले १ सय ५० अमेरिकी डलर शुल्क तिर्नुपर्छ । बेलुनको उचाईमा पुगेपछि उत्तरतर्फको हिमाली श्रृंखला, पोखरा सहर, फेवाताल सहितका फेवातालको सिरान क्षेत्रको पञ्चासे क्षेत्र समेत अवलोकन गर्न पाइने छ ।

कार्यक्रममा पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले बेलुनको उडानका लागि नौ दिन अवधिका लागि पामेको आकाशमा नोटाम (नोटिस टु एयर म्यान) जारि गरिएको बताए ।

हट एयर बेलुनमा एकपटकमा ८ जनासम्म पर्यटक उड्न सक्छन् । महोत्सव अवधिमा बिहान ६ देखि ९ बजे र बेलुकी ४ देखि ६ बजेसम्म बेलुन उडान हुनेछ ।

चिसो मौसममा बेलुन उडान सहज हुने भएकोले बिहानी र बेलुकीको समय उपयुक्त हुने गर्दछ ।

पोखरा पर्यटन परिषद् (पिटिसी) र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा हुने महाेत्सव फेवातालको सिरान क्षेत्रको पामेमा हुनेछ ।

बेलुन साहसिक पर्यटकीय गतिविधि गराउने पर्यटकीय प्रडक्ट हो । बेलुन नेपालले सन् २०१८ देखि पोखरामा हट एयर बेलुनमार्फत पर्यटकलाई पोखराको आकासमा सयर गराउँदै आएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्