पोखरा । छोरेपाटन माविमा आयोजना गरिएको निशुल्क आँखा परीक्षण शिविर सोमबार सफलता पूर्वक सम्पन्न भएको छ। विद्यालयका भूपू विद्यार्थी मञ्चको पहलमा तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित यो शिविरले २२ सय विद्यार्थीहरूको आँखा परीक्षण गरेको हो।
शिविरको उद्घाटन गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले गरेका थिए। उनले विद्यार्थी कालमा अध्ययनसँगै जीवन उपयोगी सिप सिक्नुपर्नेमा जोड दिँदै आँखामा समस्या देखिएमा आत्मनिर्भर उपचारभन्दा अस्पतालमा गएर विशेषज्ञसँग परामर्श गर्न सुझाव दिए।
शिविरमा हिमालय आँखा अस्पतालका १७ जना प्राविधिकहरूको सक्रिय सहभागिता रहेको थियो। अर्सु केसी, प्रशान्त भण्डारी, क्रिस्टिना खड्का, रितिका विक लगायतका प्राविधिकहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज वराल, पिटिई शिक्षक दीपक सुनार, मञ्चका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष हिमलाल उपाध्याय, र सचिव शालिकराम भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
यो शिविरले विद्यार्थीहरूमा आँखाको स्वास्थ्यप्रति चेतना जगाउनुका साथै उनीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। साथै, यो प्रयासलाई विद्यालयको सामुदायिक सहयोग र स्वास्थ्यप्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरणको रूपमा लिइएको छ।










