
पोखरा । पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। बेलुन नेपाल प्रालिको आयोजनामा “बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव” को नाममा सञ्चालन भएको यो महोत्सव ९ दिनसम्म चल्नेछ। महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले गरेका हुन्।
गण्डक्षकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन मन्तव्यमा भने, “यो महोत्सवले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र होइन, यहाँको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ। गण्डकी प्रदेश सरकार पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ, र यस प्रकारका महोत्सवहरूले हाम्रो प्रयासलाई थप बल दिन्छ।”
कार्यक्रमका ब्राण्ड एम्बेसडर अभिनेता राजेश हमालले भने, “म यो महोत्सवको ब्राण्ड एम्बेसडरको रूपमा जोडिन पाउँदा अत्यन्त गर्व महसुस गर्दैछु। यो महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको नक्शामा थप प्रस्ट रूपमा स्थापित गर्नेछ। म विश्वास गर्छु, यसले नेपालका प्राकृतिक सम्पदालाई अझै विशेष बनाउँदै पर्यटनको विकासलाई द्रुतगतिको बाटोमा लैजान मद्दत गर्नेछ।”
कार्यक्रममा सभापति तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाच पहारीले आफ्नो मन्तव्य राख्दै भने, “यो महोत्सव पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन एक ऐतिहासिक कदम हो। यसले स्थानीय समुदायको आर्थिक विकासलाई मात्रै होइन, पोखराको पर्यटन क्षेत्रलाई दीर्घकालीन लाभ पुर्याउनेछ। यसमा पोखरा पर्यटन परिषद्को सक्रियता र प्रतिबद्धता महत्त्वपूर्ण छ, र हामी यसलाई सफल बनाउन कुनै कसर बाँकी राख्नेछैनौं।”
पोखरामा विभिन्न देशका पाइलटले सहभागिता जनाउँदै साहसिक खेलकुद महोत्सवको क्रममा बेलुन उडान गरेका छन्। नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल र अष्ट्रेलियाका पाइलट सहभागी भएका छन्।
बेलुन बिहानैको समयमा फेवातालको आकाशमा उड्दा क्षेत्र नै रोमाञ्चक देखिएको थियो। मंगलबार बिहानैदेखि सुरु भएको यो उडानले पोखराको आकाशमा १७ वटा बेलुन एकसाथ उडेको दृश्य प्रस्तुत गरेको छ। महोत्सवको उद्देश्य साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु हो।
बेलुन उडान बिहान र बेलुकी गरिनेछ भने दिउँसो र साँझ मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुनेछन्। महोत्सवका लागि नेपाली कलाकारहरूसमेत पोखरा आएका छन्। स्थानीय सांगीतिक ब्याण्डहरू, दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, र कुमा सागर एण्ड ख्वपः ब्याण्ड जस्ता चर्चित कलाकारहरूले दैनिक प्रस्तुति दिने कार्यक्रम छ।
बेलुन उडानका लागि नेपाली नागरिकले प्रति व्यक्ति ११ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। सार्क राष्ट्र र चीनका पर्यटकले १२० अमेरिकी डलर र अन्य मुलुकका विदेशी पर्यटकले १५० अमेरिकी डलर तिर्नुपर्नेछ। बेलुनको उचाइबाट उत्तरतर्फको हिमाली शृंखला, फेवाताल, पोखरा सहर र पञ्चासे क्षेत्रको अवलोकन गर्न सकिने भएकाले यो उडान पर्यटकका लागि निकै आकर्षक छ।
पोखरामा सम्पन्न यो महोत्सवमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल, पूर्व मन्त्री मिन विश्वकर्मा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु देवी गुरुङको उपस्थिति थियो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलीया र गण्डकी प्रदेश प्रहरी कार्यालयका उप महानिरीक्षक भोला बहादुर रावलले पनि उपस्थिति जनाए।
यसैगरी, पोखराका विभिन्न वडाका अध्यक्षहरू, पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, र पूर्व अध्यक्षहरू डम्बर बहादुर केसी र केदारनाथ शर्माको समेत महत्त्वपूर्ण सहभागिता रहेको थियो।
सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ। यस प्रकारको महोत्सवले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा साहसिक पर्यटनको प्रमुख गन्तव्यको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
पर्यटन, खेलकुद र सांस्कृतिक गतिविधिहरूको सुमेलले भविष्यमा पोखरालाई विश्व पर्यटन नक्शामा अझ बलियो बनाउने र यसलाई विश्वभर चिनाउन मद्दत गर्नेछ। यस महोत्सवले पोखरालाई नयाँ र आकर्षक गन्तव्यको रूपमा प्रस्तुत गर्दा, यसले नेपालको पर्यटन क्षेत्रको विकास र अन्तर्राष्ट्रिय स्तरमा पहिचानलाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।