पोखरा । पोखरामा दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी-२० क्रिकेट प्रतियोगिता भव्य रुपमा सुरु भएको छ। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित प्रतियोगितामा पहिलो दिन टिम अकला र टिम विन्ध्यवासिनीले शानदार जित हासिल गरेका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा टिम अकलाले टिम बाराहीलाई १० विकेटले पराजित गर्यो। ९८ रनको लक्ष्य पछ्याएको अकलाले मात्र ९.४ ओभरमै विजयी लक्ष्य पुरा गर्यो। अकलाका लागि ओपनर सिर्जना पौडेलले ३९ बलमा सर्वाधिक ४६ रन बनाउँदै आफ्नो टोलीलाई जितसम्म पुर्याइन्। अर्की खेलाडी सुश्मिता श्रेष्ठले २९ बलमा १४ रन बनाउँदै अविजित रहिन्। यसअघि टस जितेर ब्याटिङ थालेको बाराहीले १९.१ ओभरमा ९७ रन बनाउँदै अलआउट हुन पुग्यो।

बाराहीका लागि रिया तामाङले २६ बलमा २४ रन बनाएर नटआउट रहिन् भने रिया गुरुङले ११ रनको योगदान दिइन्। अकलाका लागि सिर्जना पौडेलले ३.१ ओभरमा १३ रन खर्चेर ४ विकेट लिएकी थिइन्। यस प्रदर्शनका लागि सिर्जनालाई खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित गरियो।
दोस्रो खेलमा टिम विन्ध्यवासिनीले रोमाञ्चक प्रतिस्पर्धामा भद्रकालीलाई १ विकेटले हरायो। ८४ रनको लक्ष्य पछ्याएको विन्ध्यवासिनीले १८.२ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। विन्ध्यवासिनीका लागि चन्द्रमाया बरालले उत्कृष्ट प्रदर्शन गर्दै ५ रनको योगदान दिनुका साथै ४ विकेट लिइन्। यस प्रदर्शनका लागि उनी खेलकी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। यसअघि टस जितेर ब्याटिङ गरेको भद्रकालीले १९.२ ओभरमा ८३ रन बनाउँदै अलआउट भएको थियो।
उद्घाटन समारोहमा कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दीपेन्द्र चन्दले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्न प्रेरित गरे। प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यो छनोट प्रतियोगिता भएकाले उच्च स्तरको प्रदर्शन गर्न आग्रह गरे। उनले यो प्रतियोगिता राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउन महत्वपूर्ण रहेको भन्दै खेलाडीहरूलाई मिहिनेत गर्न सुझाव दिए।
तीन दिनसम्म चल्ने यो प्रतियोगितामा चार टिमको सहभागिता रहेको छ। संघका सदस्य कमल थापाका अनुसार दुई दिनको खुला क्याम्पपछि चार टिम गठन गरिएको हो। यस प्रतियोगिताले स्थानीयस्तरका प्रतिभावान खेलाडीहरूलाई प्रदेशस्तर र राष्ट्रिय स्तरमा अगाडि बढ्न अवसर प्रदान गर्ने विश्वास गरिएको छ।










