‘पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अब बजारको मागमा निर्भर’- क्यानका महानिर्देशक अधिकारी

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक  प्रदीप अधिकारीले पोखरेलीलाई विमानस्थन सञ्चालन जवर्जस्ती गरेर नहुने बताएका छन् । अधिकारीले पोखराबाट अन्तर्राष्ट्रिय उडानको शुरूवात बजारको वास्तविक आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई लिएर आयोजित छलफलमा उनले भने -‘पोखरा विमानस्थलको उडान अब बजारको मागमा निर्भर गर्दछ, यो जबरजस्ती गरेर हुँदैन।”

पोखरा विमानस्थल सञ्चालनपछि अन्तर्राष्ट्रिय उडानका बारेमा विभिन्न आशा र आशंकाहरू व्यक्त भए पनि क्यानका महानिर्देशक अधिकारीले पोखरा र आसपासका क्षेत्रका व्यवसायीलाई चार्टर्ड फ्लाइटको माध्यमबाट अन्तर्राष्ट्रिय उडानको प्रारम्भ गर्न सल्लाह दिएका छन्। उनले भने, ‘चाहेर पनि हामी अहिले नियमित उडान सुरू गर्न सकिरहेका छैनाैं। चार्टर्ड फ्लाइटमार्फत अन्य देशका एयरलाइन्सलाई आकर्षित गर्नु भनेको पहिलो कदम हो।’

उनका अनुसार, पोखराबाट अन्तर्राष्ट्रिय उडान प्रारम्भ गर्नका लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको सीमित संख्या भएको जहाज र अन्य प्राविधिक कारणहरूले समस्या ल्याएको छ। पोखराबाट ४-५ घण्टाको दुरीमा रहेका देशहरूबाट साना विमानको उडानलाई प्राथमिकता दिन सकिन्छ, जसले अन्य एयरलाइन्सका लागि सहज अवसर सिर्जना गर्नेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक देवचन्द्रलाल कर्णले पोखरा विमानस्थलको आर्थिक महत्त्व र यसले पर्यटन र व्यापारिक गतिविधिहरूमा पार्ने सकारात्मक प्रभावलाई पहिचान गर्दै यसको विकासको आवश्यकता औंल्याए। यद्यपि, उनले विमानस्थलको नियमित अन्तर्राष्ट्रिय उडानको आवश्यकता बजारको माग र वाणिज्यिक सोचमा आधारित हुनुपर्ने कुरा पनि स्पष्ट गरे।

पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष, पोमनारायण श्रेष्ठले पोखरेलीहरूको लामो संघर्ष र मेहनतका बाबजुद विमानस्थलको निर्माण सम्पन्न भए पनि यो अहिले आन्तरिक उडानसम्म मात्र सीमित रहेको बताए। उनले दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडान नहुनु, पोखरा र यसको आसपासका क्षेत्रका लागि ठूलो निराशाजनक अवस्था भएको व्यक्त गरे।

पोखराको आर्थिक समृद्धि पर्यटनमा निर्भर भएकाेले यसलाई प्रगति गर्न अन्तर्राष्ट्रिय हवाई उडानको आवश्यकता अत्यन्तै महत्त्वपूर्ण भएकाे उनकाे भनाई छ । यसले पर्यटन क्षेत्रलाई सक्रिय र गतिशील बनाउन मद्दत पुर्याउने विश्वास उनकाे छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखराबाट दुई प्रमुख खाडी राष्ट्र – दुवई र कतारतर्फ अन्तर्राष्ट्रिय हवाई उडानको संभावना रहेको कुरा उल्लेख गरे। पर्यटन व्यवसायीहरूको मत्तिनो माग भनेको पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरू गर्नु हो, जसले यहाँको पर्यटन उद्योगलाई ठूलो बल पुग्नेछ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा क्षेत्रको पर्यटनका लागि अन्तर्राष्ट्रिय उडानको आवश्यकता स्पष्ट गर्दै यस क्षेत्रका ८० भन्दा बढी ट्राभल्स एजेन्सीहरूलाई सँगै लिएर यो आवश्यकता पुरा गर्न आवश्यक भएको बताए।

उनले पोखरा विमानस्थलमा भएका चार्टर्ड फ्लाइटहरूको अनुभवबाट सिक्नुपर्ने र अब पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि थप आकर्षक बनाउन प्रयास गर्नुपर्ने जोड दिए।

उनले पोखरेलीहरूको लामो संघर्षपछि बनेको पोखरा विमानस्थल अझै आन्तरिक उडानमा सीमित रहेकाले यसका व्यवसायीहरूले आफ्नो लगानी बचाउन र आगामी दिनहरूमा लाभ कमाउन अन्तर्राष्ट्रिय उडानको खाका तयार गर्नुपर्ने विश्वास व्यक्त गरे।

क्यानका अन्य अधिकारीहरूले पोखरा विमानस्थलका ऋणसँग सम्बन्धित चुनौतीहरूको पनि चर्चा गरे। क्यानले चिनियाँ एक्जिम बैंकसँग लिएको २४ करोड ४० लाख अमेरिकी डलरको ऋणको वार्षिक किस्ता दुई अर्ब रुपैयाँ तिर्नु पर्ने अवस्थामा रहेको जानकारी दिइयो।

यद्यपि, अधिकारीहरू यसलाई एउटा चुनौतीको रूपमा नहेरी पोखरा विमानस्थलको भविष्यप्रति सकारात्मक दृष्टिकोण राख्दै यसका लागि मिलेर काम गर्नका लागि सबैलाई आव्हान गरेका छन्।

क्यानका महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको उडानको सफलताका लागि व्यवसायी, सरकार र स्थानीय जनप्रतिनिधिहरूसँग मिलेर काम गर्नुपर्ने महत्त्वपूर्ण कुरा अघि बढाए। उनका अनुसार, “अब हामीले के गरेको छ भन्ने कुरा मात्र महत्व राख्दैन, यसका लागि हामी सबैलाई मिलेर काम गर्नु आवश्यक छ।”

यस छलफलले पोखरा विमानस्थलको भविष्यका लागि एक नयाँ मार्गप्रशस्त गरेको छ, जसमा पोखरा क्षेत्रका पर्यटन, व्यवसाय र आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय हवाई उडानको महत्त्वपूर्ण भूमिका हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्