पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने ‘बृहत् खेलकुद महोत्सव’को तयारी पूरा भएको छ। यो महोत्सवको तेस्रो संस्करणमा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्की लगायत दर्जनौं खेलमा करीब २ हजार खेलाडी प्रतिस्पर्धा गर्नेछन्।
माघ ६ गतेसम्म पाँच दिन चल्ने यस महोत्सवको उद्घाटन ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नारासहित गरिने छ। प्रतियोगिता वन विज्ञान अध्ययन संस्थान पोखरा र अन्य स्थानीय संघसंस्थाका खेलकुद स्थलमा आयोजना हुनेछ।
वडा सदस्य र खेल महोत्सव संयोजक आशिष भण्डारीले यस संस्करणमा खेलकुद विधा र पुरस्कार राशीमा वृद्धि गरिएको जानकारी दिए। उनले भने, “अघिल्ला संस्करणहरूबाट प्राप्त अनुभवका आधारमा यस पटक प्रतियोगिता थप रोमाञ्चक र विविध बनाइएको छ।”

वडा अध्यक्ष तोरणबहादुर बानियाँले खेलकुद महोत्सवको उद्देश्य स्थानीय समुदायको समग्र विकास र शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा केन्द्रित रहेको बताए। “खेलकुद केवल प्रतिस्पर्धा मात्र नभइ शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम हो,” उनले भने।
फुटबल, भलिबल, साइक्लिङ, दौड, र अन्य खेलका विजेतालाई आकर्षक नगद पुरस्कारका साथ सम्मान गरिनेछ। उदाहरणस्वरूप, पुरुष फुटबलका विजेताले ४० हजार र उपविजेताले ३३ हजार ४ सय प्राप्त गर्नेछन्। विद्यालयस्तरीय खेलमा पनि प्रभावशाली पुरस्कार वितरण गरिने छ।
साथै, प्रतियोगितामा स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न मुख्य उद्देश्य रहेको पनि भनिएको छ। वडाले समाजमा सकारात्मक सोच र अनुशासनको विकास गर्न खेलकुद महोत्सवलाई महत्त्वपूर्ण कदम मानिरहेको छ।
खेलकुद महोत्सवमा हिमालयन लाईफ नेपाल र राइट फर चिल्ड्रेनका आर्थिक र प्राविधिक सहयोगले यो महोत्सव अझ प्रभावकारी बनाउने छ।
कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए, र पत्रकार सम्मेलनमा अन्य वडासदस्यहरू पनि उपस्थित थिए।
यस महोत्सवले पोखरामा खेलकुदको महत्वलाई अझ फैलाउने र स्थानीय समुदायमा नयाँ उत्साहको लहर ल्याउने विश्वास गरिएको छ।










