पोखरामा दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुरु , चिनियाँ टोलीको आगमन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुरु हुने तयारी भइरहेको छ। प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी सहित १२९ जनाको टोली सिचुवान एयरलाइन्सको चार्टर फ्लाइट मार्फत पोखरा अवतरण गरेको छ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो र यहाँ आएका खेलाडी तथा पाहुनाहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, चीनका राजदूत चेन सोङ, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन राजपरिषदद्वारा स्वागत गरिएको छ।

चिनियाँ खेलकुदको ऐतिहासिक ड्रागन बोट रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक रूपमा आयोजना हुँदै आएको हो र यस वर्षको प्रतियोगिता २०२४ को पौष १४ र १५ (डिसेम्बर २९ र ३०) मा पोखराको फेवातालमा महोत्सवका रूपमा हुने घोषणा गरिएको छ।

यो प्रतियोगिता गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा भइरहेको छ। प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरका १ गरी कुल २० समूहले सहभागिता जनाउने छन्।

यस प्रतियोगिताले नेपाल-चीन द्धिपक्षीय सम्बन्धलाई सुदृढ बनाउने, पोखरामा वाटर स्पोर्ट्सका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने र पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगिताले पोखरा र आसपासको पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुर्याउने विश्वास गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्