पाेखरा । पोखरा विमानस्थलबारे छरिएको भ्रमलाई गलत साबित गर्न पूर्ण क्षमतासहित पाेखराबाट काठमाण्डाैं उडान भएकाे छ ।
चिनिया सिचुवान एयरलाइन्सको न्यारो बडी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्ण क्षमता अर्थात् १ सय २६ जना यात्रु लिएर विहिवार पोखराबाट उडान भरेकाे हाे सिचुवान एयरलाइन्सको यो नियमित उडान भने होइन ।
पोखरामा सुरु हुन लागेको चिनियाँ ड्रागन बोट्रेस प्रतियोगिताका खेलाडीलाई लिएर पोखरा आएको चार्टर विमानले पोखराका पत्रकार, पर्यटन व्यवसायी लगायतका टोलीलाई लिएर काठमाडौँ फर्किएको हो ।

विमानस्थल सञ्चालन भएयता केही मानिस र समूहले विमानस्थलको रनवे गहिरो भएको र जसका कारण न्यारो बडी विमानले पूर्ण क्षमताको यात्रु लिएर उडान भर्न नसक्ने भन्दै हल्ला फिजाइएको थियो ।
तर अहिले सिचवान एयरलाइन्सले भरेको सफल उडानले पोखरा विमानस्थलबारे छरिएको भ्रमलाई गलत साबित गरेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हरेक हिसाबले उत्कृष्ट रहेको सन्देश दिएको पर्यटन व्यवसायीहरूको बुझाइ छ ।
परीक्षण उडानको नेतृत्व गरेका गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले यो सफल उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गराउन राज्यका माथिल्ला निकायहरूलाई दबाब सिर्जना गरेको बताए ।
सिचुवान एयरलाइन्सको पोखरा-काठमाडौँको पूर्ण लोड क्षमताको परीक्षण उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा कुनै पनि त्रुटि नभएको बताए ।
उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकार सँगसँगै व्यवसायीहरूले पनि हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
छिटपुट मात्रामा चार्टर्ड विमान पोखरा आए पनि अहिलेसम्म अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पोखराबाट कुनैपनि अन्तर्राष्ट्रिय उडान भरेका छैनन् ।

तर आगामी मार्च महिनादेखि हिमालय एयरलाइन्सले पोखराबाट चीनको लासासम्म नियमित उडान भर्ने घोषणा गरिसकेको छ ।
बढीमा ७ घण्टा उडान भर्ने न्यारो बडी विमानका लागि भनेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हाे ।
यहाँबाट छिमेकी राष्ट्र, दक्षिण एसियाली मुलुक र नजिकै रहेका विश्वका ठूला बजारहरूसम्म नियमित उडान गर्न सक्ने हो भने पोखराको पर्यटन र समग्र गण्डकीको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्ने पुग्नेछ ।










