पोखरामा दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको फेवा तालमा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ सुरु भएको छ। गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा सुरु भएको यो प्रतियोगिता नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद्, र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सहआयोजनामा सम्पन्न भइरहेको छ।

प्रतियोगिताको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तेजुलाल चौधरीले गर्नुभएको हो। उहाँले यसखाले खेलकुद गतिविधिले पोखरालाई विश्वव्यापी खेल पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका ११ टोली, मित्रराष्ट्र चीनका विभिन्न प्रान्तबाट ८ टोली, र सिङ्गापुरबाट १ टोली गरी कुल २० टोलीले सहभागिता जनाएका छन्। यो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एउटै मंचमा ल्याएर उनीहरूको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

आइतबार २०० मिटर र ५०० मिटर दौडतर्फका प्रारम्भिक खेलहरू सम्पन्न भएका छन्। सोमबार हुने सेमिफाइनल र फाइनल खेलका लागि सहभागी टोलीहरू बीच प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताका विजेताले अमेरिकी डलर ५,००० प्राप्त गर्नेछन् भने दोस्रो स्थान हासिल गर्ने टोलीले २,००० डलर र तेस्रो स्थानमा रहने टोलीले १,२०० डलर पुरस्कार पाउनेछन्। अन्य सहभागी टोलीहरूलाई प्रोत्साहन स्वरूप ५०० डलर प्रदान गरिनेछ।

पोखराको फेवा तालमा आयोजना गरिएको यो प्रतियोगिता खेलकुदसँगै पोखराको पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण रहेको आयोजकहरूको विश्वास छ। प्राकृतिक सौन्दर्य र सांस्कृतिक विशेषतासहित पोखराले खेल पर्यटनको क्षेत्रमा विश्वभरको ध्यान केन्द्रित गरिरहेको छ।

तस्बिरहरू :-

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्