पोखरा । पोखराको फेवातालमा सम्पन्न दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेस प्रतियोगितामा चीनले उत्कृष्ट प्रदर्शन गर्दै दुवै वटा ट्रफी हात पारेकाे छ ।
चीनको डोङग्वान लाओयू क्लबले ५०० मिटर र २०० मिटर दुवै रेसमा पहिलो स्थान हासिल गर्दै नगद ५/५ हजार गरि १० हजार अमेरिकी डलरसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्यो।
२०० मिटर रेसमा दोस्रो स्थानमा युनान मिन्जु युनिभर्सिटी र तेस्रो स्थानमा लिआओचिङ युनिभर्सिटी टोली रहे।

५०० मिटर रेसमा चीनको लिआओचिङ युनिभर्सिटी टोली दोस्रो स्थानमा रहँदा वुहान खेलकुद विश्वविद्यालय तेस्रो स्थानमा पुग्यो।
दुवै प्रतियाेगिताका विजेताले नगद ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार अमेरिकी डलर, र तेस्रो स्थानले १ हजार २ सय अमेरिकी डलर हात पारे।
सहभागी सबै टोलीले प्रोत्साहन स्वरूप नगद ५ सय अमेरिकी डलर प्राप्त गरे।
प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए। चीनबाट ८ टोली, सिङ्गापुरबाट १ टोली, र नेपालका विभिन्न प्रदेशका ११ टोलीले उत्कृष्ट प्रदर्शन गरे।

नेपालका तर्फबाट त्रिभुवन आर्मी क्लब, हिमालयन रिभर गाइड्स एसोसिएसन, र गण्डकी प्रदेश टोलीले उत्साहजनक प्रदर्शन गरे।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, र उपमेयर मञ्जुदेवी गुरुङलगायतले पुरस्कार वितरण गरे।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो प्रतियोगिताले नेपाल–चीन सम्बन्धलाई सांस्कृतिक रूपमा अझ सुदृढ बनाएको बताए। उनले नेपालको पर्यटनलाई विश्वभर चिनाउने र स्थानीय आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
उनले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भने पोखराको सुन्दरता र नेपाली आतिथ्यको प्रशंसा गरे। मुख्यमन्त्री पाण्डेले यस्तो कार्यक्रमले दुई देशबीचको मित्रतालाई प्रगाढ बनाउँदै, नेपालको सांस्कृतिक सम्पत्ति र पर्यटन सम्भावनालाई थप उजागर गर्ने बताए।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउने बताए। यसले पोखराको प्राकृतिक सौन्दर्य उजागर गर्दै आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनकाे भनाई छ ।
पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले भने पर्यटन यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखरामा पर्यटक आगमनमा वृद्धि भएको बताए। उनले फेवा डायलग र क्रस-कन्ट्री दौडजस्ता गतिविधिसँगै ड्र्यागन बोटले पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाएको र थप पर्यटक आकर्षित गर्न यस्ता कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
यो प्रतियोगिताले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई बलियो बनाउन मात्र नभई, नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याएको छ।
फेवातालको मनमोहक वातावरणमा सम्पन्न यो प्रतियोगिताले नेपाललाई खेलकुद पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउन महत्वपूर्ण योगदान दिएको छ।










