पोखरा । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गण्डकी प्रदेशमा आधुनिक प्राविधिक शिक्षालय निर्माण हुने भएको छ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–१, गुर्धुममा नेपाल सरकारले उपलब्ध गराएको १६० रोपनी जग्गामा उक्त शिक्षालयको भवन निर्माण हुने भएकाे हाे ।
कोइकाले शिक्षालय निर्माणका लागि ९० लाख अमेरिकी डलर (करिब १ अर्ब २३ करोड रुपैयाँ) आर्थिक सहयोग गर्ने छ ।

शुक्रबार गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका कन्ट्री डाइरेक्टर मुहेओन कङले परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौतापछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त शिक्षालयको शिलान्यास गर्दै कोरियाली सरकार र कोइकाप्रति आभार व्यक्त गरे।
मुख्यमन्त्री पाण्डेले परियोजनाले गण्डकी प्रदेशलाई दक्ष जनशक्ति उत्पादनको केन्द्रका रूपमा विकास गर्ने उल्लेख गर्दै यसको सफल कार्यान्वयनमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

परियोजनाले निर्माण उद्योगमा आवश्यक सीपयुक्त जनशक्ति उत्पादन गर्नुका साथै रोजगारीका अवसरहरू सिर्जना गरी नेपालको आर्थिक विकासमा योगदान पुर्याउने उनकाे विश्वास छ ।
कोइकाका देशीय निर्देशक मुहेओन कङले परियोजनाले युवा, महिला, र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुर्याउने बताए । साथै, उनले गण्डकी प्रदेशमा यो परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न कोइका पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाए ।

सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले परियोजनाले निर्माण उद्योगमा दक्ष जनशक्ति तयार पार्ने, अल्पकालीन तालिम, करियर सेवा प्याकेज, र उद्योगसँगको साझेदारीलाई प्रोत्साहन गर्ने जानकारी दिए।
साथै, प्राविधिक संस्थानको सञ्चालन योजना र गुरुयोजना विकासका लागि प्राविधिक मार्गदर्शन उपलब्ध गराइने उल्लेख गरे ।
यस प्रोजेक्टलाई गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक प्रतिष्ठान र कोइकाले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्।

परियोजनाको अवधि पाँच वर्ष तोकिएको छ, जसले सन् २०३० सम्म महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ।
यो परियोजना गण्डकी प्रदेश र कोरियाबीचको द्विपक्षीय सहकार्यको उत्कृष्ट उदाहरण मानिएको छ, जसले नेपालको प्राविधिक शिक्षा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।











