
पोखरा । सहनशील महिला समूह, पोखरा-५ राधाकृष्ण टोलको आयोजनामा शनिबार सम्पन्न निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाले लाभ उठाएका छन्। गिरी कम्प्लेक्सस्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) परीक्षण निशुल्क गरिएको हो।
शिविरको उद्घाटन कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह र टिजीका कारण, निदान र उपचार पद्धतिबारे जानकारी दिए। उनले स्वस्थ जीवनशैली, उचित खानपान, नियमित व्यायाम र समय-समयमा स्वास्थ्य जाँच गराउँदै रोग लाग्ने सम्भावना कम गर्न सकिने बताए। “यदि रोग लागिहाले पनि समयमै निदान र उपचार गरे स्वास्थ्य जटिलताबाट बच्न सकिन्छ,” उनले जोड दिए।
कार्यक्रममा पोखरा-५ का कार्यवाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले यस्ता स्वास्थ्य शिविरहरूले समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन र गुणस्तरीय सेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
गण्डकी प्रदेशकै पहिलो आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सेवासँगै सामाजिक उत्तरदायित्व बहन गर्न संस्था कटिबद्ध रहेको उल्लेख गरे। युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले अहिले प्रदेशभर १५ शाखाबाट सेवा प्रदान गरिरहेको जानकारी दिँदै आगामी दिनमा थप परीक्षण सेवा उपलब्ध गराउने योजना सुनाए।
यो शिविर युआरएलको १ सय ८७ औं सामाजिक उत्तरदायित्व कार्यक्रम हो। हालसम्म यस्ता शिविरबाट दुई लाखभन्दा बढीले लाभ लिइसकेका छन्।
सहनशील महिला समूहकी अध्यक्ष विजयलक्ष्मी कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष रमा कोइराला, पूर्वअध्यक्ष सुमित्रा कोइराला, सचिव सुनिता लामिछाने कोइराला, लक्ष्मणप्रसाद कोइरालालगायतले आफ्ना विचार व्यक्त गरे।
यस शिविरले स्वास्थ्य सचेतना बढाउन र समुदायमा स्वास्थ्य सेवा पुर्याउन महत्त्वपूर्ण योगदान दिएको सहभागीहरूले बताए।