वातावरण जोगाउन सरकारले चासो नदिएकोमा असन्तुष्टि

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा शुक्रबार सुरु भएको प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन मा सहभागीहरूले वातावरण जोगाउन सरकार उदासीन भएकोमा गुनासो गरेका छन्। सम्मेलनमा वक्ताहरूले सरकारले वातावरण संरक्षणसम्बन्धी धेरै अन्तर्राष्ट्रिय सन्धि र महासन्धिहरूमा हस्ताक्षर गरे पनि ती कार्यान्वयन नगरेको आरोप लगाउँदै गम्भीर असन्तुष्टि व्यक्त गरे।

अभियानका पूर्व अध्यक्ष उत्तम कँडेलले वायु प्रदूषणका कारण दक्षिण एशियाका मानिसहरू गम्भीर संकटमा परेको बताए। उनले प्रदूषण यसरी नै बढ्दै गएमा मानिसहरूको जीवनमा ठूलो असर पर्ने चेतावनी दिए। उनका अनुसार राज्यले मात्रै समस्या समाधान गर्न सक्दैन, सबै पक्षले मिलेर वातावरण जोगाउन काम गर्नुपर्छ। कँडेलले वातावरण र मानव जीवनको रक्षा गर्न सही नीति र ठोस योजना बनाउन जरुरी रहेको पनि उल्लेख गरे।

कार्यक्रममा बोल्दै अभियानका उपाध्यक्ष राजन केसीले नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि ठूलो देशहरूले निकालेको कार्बनको असर नेपालजस्ता साना देशहरूले भोग्नुपरेको बताए। उनले सरकारले सन्धि र महासन्धिहरू पारित गरे पनि त्यसलाई व्यवहारमा लागू नगरेको गुनासो गरे। अब जनता र निजी क्षेत्रले पनि वातावरण जोगाउन अघि सर्नुपर्नेमा उनले जोड दिए।

सम्मेलनका पूर्व अध्यक्ष सन्तबहादुर घिसिङले यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै वातावरण र प्रकृति संरक्षणका लागि विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्ने जानकारी दिए। कार्यक्रममा बिहान प्रभातफेरी पनि आयोजना गरिएको थियो।

सम्मेलनमा सहभागीहरूले सरकारलाई वातावरण संरक्षणमा गम्भीर ध्यान दिन दबाब दिनुपर्ने बताएका छन्। वातावरण जोगाउन ढिलाइ भए मानव जीवनमाथि ठूलो संकट पर्न सक्ने भएकाले सबैले जिम्मेवारीका साथ काम गर्नुपर्ने उनीहरूको भनाइ थियो।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्