
पोखरा । विश्व ब्रेल दिवस तथा ब्रेल लिपिका आविष्कारक लुइस ब्रेलको २१६औं जन्म जयन्तीका अवसरमा कास्की नेत्रहीन संघले गण्डकी प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ। पोखरा–१० स्थित कुँडहर आधारभूत विद्यालयको प्राङ्गणमा शनिबार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका एघार समूह सहभागी भए।
प्रतियोगितामा स्याङ्जा नेत्रहीन संघले प्रथम स्थान हात पार्दा नेत्रहीन युवा संघ, कास्की शाखा दोस्रो र कास्की नेत्रहीन संघ तेस्रो स्थानमा रहे। चिल नेपाल समूहले सान्त्वना स्थान प्राप्त गर्यो। विजेता समूहलाई क्रमशः रु १०,०००, रु ७,०००, रु ५,००० र रु ३,००० नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रमको अध्यक्षता कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले गरेका थिए। गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ प्रमुख अतिथि थिइन्। प्रमुख अतिथि गुरुङले लुइस ब्रेलको योगदानका कारण दृष्टिविहिन व्यक्तिहरु ज्ञानको क्षेत्रमा अब्बल हुन सफल भएको बताउँदै प्रतिभाशाली दृष्टिविहिन व्यक्तिहरुबाट भावी पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिइन्। उनले राज्यलाई दृष्टिविहिन र अपांगता भएका व्यक्तिहरु मैत्री बनाउन सकारात्मक र रचनात्मक योगदान दिन सबै पक्षलाई आग्रह गरिन्।
कार्यक्रममा कास्की नेत्रहीन संघका कार्यक्रम अधिकृत एक बहादुर गुरुङ, महिला उपाध्यक्ष सुनिता ज्ञवाली, डिडाका संस्थापक अध्यक्ष गिरीधारी सुवेदी र शिक्षक टेक बहादुर थापाले पनि आफ्नो धारणा व्यक्त गरे।
अध्यक्ष श्रीकान्त सापकोटाले ब्रेल लिपिलाई संविधानले मान्यता दिए पनि प्रदेश सरकारका कार्यक्रममा यस विषयलाई समेट्न नसकेको गुनासो गरे। उनले नेत्रहीन संघका विषयलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।
लुइस ब्रेल जयन्तीका अवसरमा आयोजित यो कार्यक्रमले दृष्टिविहिनहरुको हौसला बढाउँदै उनीहरुको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले विश्वास लिएको छ।