
पोखरा । प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी माघ ११ देखि १३ (फेब्रुअरी २४–२६) सम्म पर्यटन राजधानी पोखरामा आयोजना हुने नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) को तयारी सुरु भएको छ।
यसै सन्दर्भमा प्यासिफिक एसिया ट्राभल्स एसोसिएसन (पाटा) नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन परिषद्का तर्फबाट अध्यक्ष तारानाथ पहारीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौतामा तीन छिमेकी राष्ट्रहरू नेपाल, भारत र चीनका सार्वजनिक तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा सहभागी गराउँदै व्यवसायिक साझेदारी र छलफललाई अघि बढाउने उद्देश्य उल्लेख छ।
कार्यक्रमले मुख्यतया पर्यटन र आतिथ्यताको क्षेत्रमा तीन देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ बनाउँदै नेपाल, भारत, र चीनबीचको पर्यटन सम्भाव्यता र व्यवसायिक अवसरलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।
सम्झौतामा नेपाल पर्यटन बोर्ड, प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदारहरू, साथै स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरूसँग सहकार्य गरी एक्स्पोलाई प्रभावकारी बनाउने योजना गरिएको छ।
पाटा नेपाल च्याप्टरले आफ्नो नेटवर्कमार्फत पोखराको विविध पर्यटन आयामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचार गर्ने प्रतिबद्धता जनाएको छ।
पोखरा पर्यटन परिषद्ले स्थानीय पर्यटन अधिकारीहरू, प्रायोजकहरू र साझेदारहरूसँग समन्वय गर्दै कार्यक्रमको व्यवस्थापन र अतिथिहरूको स्वागतमा विशेष भूमिका निर्वाह गर्नेछ। परिषद्का न्युजलेटर, सामाजिक सञ्जाल र अन्य मिडिया प्लेटफर्ममार्फत एक्स्पोको मार्केटिङ र प्रवद्र्धनका काम गरिनेछ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा हुन लागेको एक्स्पोले पर्यटन राजधानी पोखरालाई थप उजागर गर्दै समग्र नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल रणनीतिक रूपमा विश्वका दुई ठूला अर्थतन्त्रहरू भारत र चीनको बीचमा रहेकोले यो कार्यक्रमले यी देशहरूबीचको पर्यटन सम्भावनालाई उजागर गर्दै नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
एक्स्पोले पर्यटन क्षेत्रमा आपसी अनुभव आदानप्रदान, व्यापारिक साझेदारी र क्षेत्रीय विकासका लागि महत्त्वपूर्ण मञ्च उपलब्ध गराउनेछ।