पोखरा । भिन्तुना युवा क्लवले “एकताको लागि एकाला स्वच्छ सामाजिक प्रतिवद्धता” भन्ने नारासहित पहिलो भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता गर्ने भएको छ। प्रतियाेगिताबारे क्लवले बुधवार पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हाे ।
प्रतियोगिता पुस २६ र २७ गते पोखरा-४, गैरापाटनस्थित स्पोर्ट क्यासलमा हुनेछ। प्रतियोगितामा पोखरा र आसपासका क्लबहरूका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने क्लवका अध्यक्ष तथा प्रतियोगिता संयोजक अनिरुद्र उदासले जानकारी दिए ।
उनका अनुसार विजेताले रु. १,११,१११ नगद, ट्रफी, र प्रमाणपत्र पाउनेछन् भने दोस्रो स्थान प्राप्त टोलीले रु. ५५,५५५ नगद, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, उच्च स्कोरर र फेयर प्ले टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।
यो प्रतियोगिताले फुटसल खेललाई प्रोत्साहन गर्नुका साथै सामाजिक एकता र सहकार्यलाई पनि मजबुत बनाउन भूमिका खेल्ने स्वास्थ्य तथा आर्थिक संयोजक राजन श्रेष्ठले बताए ।

फुटसल खेलको माध्यमबाट सामाजिक सम्बन्ध विस्तार गर्नु, युवाहरूलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्नु, र स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
वि.सं. २०५५ मा स्थापना भएको भिन्तुना युवा क्लबले स्थापनाकालदेखि नै सामाजिक सेवामा योगदान दिँदै आएको छ। यस क्लबले २०७२ सालको महाभूकम्पको समयमा गोर्खाको आरुखर्कमा निःशुल्क स्वास्थ्य शिविर र राहत वितरण गर्नुका साथै, कोरोना महामारीका समयमा ५०,००० भन्दा बढी व्यक्तिलाई निःशुल्क खाना वितरण गरेको थियो। यस क्लबले खेलकुद र सामाजिक सेवाको अद्वितीय संयोजनमार्फत देशभर चिनिएको छ।
पोखरा, गण्डकी प्रदेशको राजधानी, नेपालको दोस्रो ठूलो सहरका रूपमा खेलकुदमा पनि अग्रणी भूमिका खेल्न सक्ने ठाउँ हो।
विश्वव्यापी रूपमा चर्चित फुटसल खेल नेपालमा केही दशकअघि भित्रिए पनि राष्ट्रिय स्तरमा पर्याप्त प्रोत्साहन पाउन सकेको छैन।










