फेवातालमा हावापानीको पूर्वानुमान गर्न विन्ड सेन्सर जडान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा प्रसिद्ध फेवातालको सुरक्षालाई थप मजबुत बनाउन सशस्त्र प्रहरी बल (एपीएफ) रेस्क्यु वाच टावरमा विन्ड सेन्सर डिभाइस जडान गरिएको छ। ईसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) सँगको सहकार्यमा जडान गरिएको यो अत्याधुनिक उपकरणले फेवाताल क्षेत्र वरपरको हावापानी सम्बन्धी गतिविधिहरूको पूर्वानुमान तीन घण्टा अगावै उपलब्ध गराउनेछ।

सशस्त्र प्रहरी बल कालिका गण कास्की पोखराका गणपति एसपी अरुणकुमार शर्माका अनुसार, यस डिभाइसले विशेषतः सराङकोट क्षेत्रबाट आउने हावाहुरीका कारण फेवातालमा हुन सक्ने संभावित दुर्घटनाहरूलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

डिभाइस पूर्णरूपमा सञ्चालनमा आउन अझै दुई हप्ता लाग्ने बताइएको छ। गणपति शर्माले भने, “यस उपकरणले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन र प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ। सूचना प्रवाहमा भएको यो प्राविधिक उपलब्धि कोसेढुङ्गा सावित हुनेछ।”

यो उपकरणको प्रयोगले फेवातालमा यात्रा गर्ने पर्यटक र स्थानीयको सुरक्षामा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। साथै, आपतकालीन अवस्थामा पूर्वतयारी गर्न सहजता हुनेछ। हावाहुरी, आँधीबेहरी वा अन्य विपद्का सम्भावनाको समयमै सूचना प्राप्त भएपछि उद्धार र सुरक्षा प्रक्रिया छिटो र प्रभावकारी हुने विश्वास लिइएको छ।

सशस्त्र प्रहरी बल र ईसिमोडको सहकार्यमा जडान गरिएको यो उपकरणले फेवाताल क्षेत्रको सुरक्षा र पर्यटकमैत्री वातावरण बनाउन थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस प्राविधिक पहलले पोखराको प्राकृतिक सौन्दर्यसँगै सुरक्षालाई पनि सुदृढ गर्दै पर्यटकहरूको विश्वास बढाउने विश्वास गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्